हुम्लामा रास्वपा उम्मेदवारको अपहरण, उम्मेदवारी नदिन काँग्रेसको धम्की
काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार सुजता थापाको अपहरण भएको छ ।
४०–४५ जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञात स्थलतर्फ लगिएको रास्वपाले जनाएको छ । उनीहरू नेपाली काँग्रेसका युवा रहेको रास्वपाले जनाएको छ ।
उम्मेदवारी मनोनयनका लागि आवश्यक तयारी भइरहेको बेला हिजो मङ्सिर १ गते दिउँसो करिब १ बजे निज सुजाता थापा र उनको श्रीमान बल थापालाई अपहरण शैलीमा अज्ञात स्थलतर्फ लगिएको थियो ।
घटनाबारे हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराइएको रास्वपाले जनाएको छ । प्रजिअलाई यसअघि पनि अन्य व्यक्तिले यस घटनाको सूचना दिएकोले आवश्यक खोजतलास उद्धारको लागि प्रहरी परिचालन गरिसकेको बताए ।
रास्वपाका उम्मेदवार थापालाई उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुनसक्ने सम्मको यातना दिइएको रास्वपाले जनाएको छ ।
उक्त चेतावनी पछि रास्वपा उम्मेदवार थापको परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुगेको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
साथै हुम्ला सर्केगाडमा उम्मेदवार तय गर्न र प्रचारप्रसारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका केही सदस्यहरूलाई समेत दुर्व्यवहारका साथै लछारपछार र कुटपिट समेत भएको उनले बताए ।
यसैबिच मधेस प्रदेशमा पनि रास्वपाका सम्भावित उम्मेदवारहरूलाई धम्की दिने र प्रलोभनमा पार्ने सम्मका प्रयत्नहरू भएका रास्वपाले जनाएको छ ।
रास्वपाले उम्मेदवार दिन तयार व्यक्ति र निजको परिवारलाई धाकधम्की दिने, मानसिक यातना दिने, प्रलोभन देखाउने र रास्वपालाई उम्मेदवारी नै दिन नदिने यस प्रकारका चरम अलोकतान्त्रिक व्यवहारको घोर निन्दा गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै रास्वपाले यस घटनामा स्थानीय प्रशासन र सुरक्षा निकायका तर्फबाट सम्भव हुने आवश्यक अनुसन्धान र सहयोग समेत समयमै प्राप्त हुन नसकेको जनाएको छ ।