पोखराका प्रेमप्रसादको एकीकृत कृषि

गण्डकी । पोखरा महानगरपालिका–२४ लौरुकका किसान प्रेम अधिकारीका फार्ममा उत्पादन भएका कृषिजन्य वस्तु लेकसाइड आसपासमा खरिद गर्नेको घुइँचो हुन्छ । बजार पुर्‍याइएका तरकारी बिक्री हुँदैन की भन्ने उनलाई चिन्ता लाग्दैन ।

प्रेमप्रसादले बजारमा जितिरहेको विश्वास उनको एकीकृत कृषिप्रतिको लगाब र मेहनत हो । पहिचान अर्गानिक कृषि फार्म सञ्चालन गरिरहेका अधिकारीले फार्ममा एकीकृत रूपमा पशुपालसँगै तरकारीखेती पनि गरिरहेका छन् ।

गोठमा भैँसीपालन गरिरहेका अधिकारीले दैनिक ४५ लिटर दूध बेचिरहेका छन् भने तिनै भैँसीको मलले चारवटा टनेलमा विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी लगाइरहेका छन् ।

सुरुमा गाउँका स्थानीयकोसमेत दूध सङ्कलन गरी सात सय लिटरसम्म बजारमा बिक्री गर्न लैजाने गरेको अधिकारीले बताए । फार्ममा पालिएका भैँसीको मल आफ्नै तरकारीखेतीमा प्रयोग गरी अर्गानिक उत्पादनमा जोड दिएको उनको भनाइ छ । उनले भने,“विषादिरहित मल प्रयोग भएकाले उत्पादित तरकारीको माग पनि बजारमा बढी छ ।”

आफ्नो जीवनकालमा विभिन्न अनुभव पनि सँगालेको बताउँदै अधिकारीले सन् २००० देखि २००५ सम्म कतारमा वैदेशिक रोजगारी गरेको जानकारी दिए । त्यसयता लेकसाइडमा होटेल सञ्चालन गरेका उहाँले २०७२ सालको भूकम्पपछि कृषितर्फ लागेको जानकारी दिए ।

अर्गानिक खेतीका लागि चाहिने मल गोठबाट उपलब्ध हुने गरेको भन्दै अधिकारीले गोठमा अहिले १८ वटा भैँसी रहेका उल्लेख गरे । लोकल कुखुरापालन पनि गरिरहेका उनले बजारको माग अनुसार कृषिजन्य उत्पादन पुर्‍याउन नसकेको बताए । आफैँ बजारीकरणमा लाग्नुका साथै र परिवारका सदस्यले पनि सहयोग गर्दा काम गर्न सहज भएको अधिकारीको भनाइ छ ।

व्यावसायिक कृषिमा परिवारजनबाट सहयोग पाएको बताउँदै उहाँले एकीकृत कृषिबाट जोकोही लाभान्वित हुनसक्ने अनुभव सुनाए । परिवारको सहयोगसँगै उहाँले अन्य दुई जनालाई दैनिक ज्यालादारीमा रोजगारीसमेत दिँदै आएका छन् ।

“मेरो व्यावसायिक कृषिमा श्रीमती, छोराछोरी, आमा सबैको निरन्तर साथ र सहयोग छ”, उनले भने,“एकीकृत रूपमा पशुपालन र तरकारीखेती गरेकाले उपभोक्तालाई शुद्ध प्राङ्गारिक उत्पादन पुर्‍याउन सकेको छु ।”

उत्पादित वस्तुको बजार लेकसाइड रहेको बताउँदै अधिकारीले धेरै उत्पादन हुँदा पोखरा महानगरपालिकाद्वारा सञ्चालित कृषि एम्बुलेन्स सहयोगी बन्ने उल्लेख गरे ।

सुरुमा रु १० लाखबाट व्यावसायिक कृषिमा लगानी सुरु गरेको जनाउँदै उहाँले त्यसयता टनेल निर्माण, गोठलगायत पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगेको बताए । उत्पादित वस्तुको सहज बजारीकरणका साथै आम्दानी पनि प्रशस्तै भइरहेकाले सन्तुष्ट रहेको उनको भनाइ छ ।

अघिल्लो वर्ष रु एक लाखको साग, रु एक लाखको काँक्रो बिक्री गरेको अधिकारीले जानकारी दिए । धनियाँ, गोलभेडालगायत उत्पादनबाट पनि सोहीअनुसार फाइदा भएको उनले अनुभव सुनाए । गत वर्ष राँगा बिक्रीबाट सबै खर्च कटाएर रु एक लाख ५० हजार आम्दानी भएको उनले जानकारी दिए ।

अधिकारीले गर्नुभएको एकीकृत कृषि अरुका लागि पनि अनुकरणीय भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।

“पशुपालनसँगै तरकारीजन्य उत्पादन गर्दै आएका अधिकारीले एकीकृत रूपमा कृषिकर्म गर्नुभएको छ”, उनले भने,“घरमा पशु पालन भएकाले खेतबारीमा पशुमल प्रयोग भएकाले अर्गानिक तरकारी उत्पादनमा सहयोग पुगेको छ ।”

“हाम्रो परिवेशमा एउटै किसानको सयौंँ रोपनी जग्गा हुने अवस्था पनि छैन”, कडरियाले भने, “थोरै जग्गामा अधिकतम लाभ लिन अब अधिकारीले जस्तै अरुले पनि एकीकृत कृषि प्रणाली अपनाउनु जरुरी छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *