नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सिद्धार्थ बैंक
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड नेपाल प्रिमियर लिगको मुख्य प्रायोजकको रुपमा आबद्ध भएको छ ।
क्रिकेट संघ नेपाल (क्यान) द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म (५ वर्ष)को मुख्य प्रायोजकको रुपमा आबद्ध भएको हो ।
क्यानले कार्तिक ३० गते क्यानका पदाधिकारीहरू, बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया, सञ्चालक समितिका सदस्यहरू, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, व्यवस्थापन समूह, बैंकको भगिनी संस्थाका अध्यक्षहरू र प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरेको थियो ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मंसिर १५ देखि पौष ६ गतेसम्म कीर्तिपुर स्थित टी.यू अन्तर्राष्ट्रिय मैदानमा हुने भएको छ ।
नेपालको क्रिकेट जगतलाई थप उचाइमा पुर्याउने उद्देश्यका साथ सिद्धार्थ बैंक यस लिगसँग जोडिएको धारणा बैंकका अध्यक्ष श्री मनोज कुमार केडियाले व्यक्त गरेका थिए ।
साथै, बैंकका प्रमुख कार्यकारी अधिकृतले मन्तव्य प्रस्तुत गर्दै बैंकको यस समन्वयले नेपालमा क्रिकेटको स्तर नयाँ उचाइमा पुर्याइ देशको आर्थिक र सामाजिक विकासमा योगदान पु¥याउन मद्दत पुग्ने धारणा व्यक्त गरेका थिए ।
पछिल्ला दिनहरूमा क्रिकेट खेलले सबै उमेर समूहका मानिसहरूमा अत्यधिक लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाको रूपमा हेर्ने गरिएकोले पनि बैंक नेपाल प्रिमियर लिगको ५ वर्षको लागि मुख्य प्रायोजकको रुपमा जोडिएको हो ।
यस समन्वयले नेपालको क्रिकेट विकासमा योगदान गर्दै खेलाडीहरूमा प्रतिस्पर्धात्मक अनुभव प्राप्त गर्न मद्दत पुर्याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।