नेताहरुले यसरी सम्झिए पूर्वसभामुख ढुङ्गानालाई
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति नेताहरुले दु:ख व्यक्त गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अपर्ण गरेका हुन् ।
कसले कसरी सम्झिए ?
राष्ट्रपति रामचन्द्र पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल रहेका परिवारमा समवेदना प्रकट गरे ।
“पूर्वसभामुख दमननाथ दुङ्गानाको निधनले मर्माहत भएको छु, राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता, नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुङ्गानाले लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान सधै स्मरण हुनेछ, प्रिय ढुङ्गानाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु”, राष्ट्रपतिले भने ।
राष्ट्रपति पौडेलले नेपालको संवैधानिक र संसदीय इतिहासमा ढुङ्गानाको योगदान विशिष्ट रहेको स्मरण गर्नुभएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका परिवारमा गहिरो समवेदना प्रकट गरे ।
“वि.सं. २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु । नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा उहाँको योगदान सम्झिरहेको छु”, प्रधानमन्त्रीले भने ।
कांग्रेस सभापति शेर बहादुर देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
“विद्यार्थी जीवनदेखिकै मेरा एक पुराना साथी एवं पूर्वसभामुख ढुङ्गानाको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ ।लोकतन्त्र, मानव अधिकार र न्याय क्षेत्रमा उहाँको महत्वपूर्ण योगदान थियो । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, दिवङ्गत आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु”, कांग्रेसद्वारा आज जारी शोक वक्तव्यमा सभापति देउवाले भने ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ढुङ्गानाप्रति दुस्ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
‘नेपालको लोकतान्त्रिक आन्दोलनका महत्त्वपूर्ण व्यक्तित्व, पूर्व सभामुख, मानव अधिकार तथा नागरिक आन्दोलनका अगुवा आदरणीय दमननाथ ढुंगानाको निधनको खबरले दुस्खी बनाएको छ,अध्यक्ष प्रचण्डले भनेका छन्,‘नेपाल र नेपाली जनताले देशको राजनैतिक, तथा सामाजिक परिवर्तनमा उहाँले पुर्याएको योगदानलाई सदैव सम्झिरहनेछन। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काअध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएकामा दुःख व्यक्त गरेका छन् ।
“वि.सं. २०४७ को संविधान सुझाव आयोगका सदस्य तथा २०४८ सालमा निर्वाचित प्रतिनिधिसभाका सभामुख तथा मेरा मित्र दमननाथ ढुङ्गानाको निधन भएको खबरले म अत्यन्त दुःखी छु”, अध्यक्ष नेपालले सामाजिक सञ्जालमार्फत ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भने ।
पूर्वसभामुख ढुङ्गानाले संविधान सुझाव आयोगको सदस्यका रूपमा संविधान निर्माणमा सँगै भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रजातन्त्र स्थापना, मानव अधिकारको रक्षा, शान्ति प्रक्रियामा निर्वाह गरेको भूमिका तथा नेपालको संसदीय अभ्यासलाई सबल बनाउन दिएको योगदानको अध्यक्ष नेपालले स्मरण गरे ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानन्यायाधीश राउतले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर ढुङ्गानाप्रति श्रद्धाञ्जली प्रकट गरेका हुन् ।
उपसभामुख इन्दिरा राना
उपसभामुख इन्दिरा रानाले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा पुगेर उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली प्रकट गरेकी हुन् ।
पूर्वसभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो निधन भएको थियो ।
नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ढुङ्गाना २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भई २०४८ देखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख थिए ।
त्यसैगरी, ढुङ्गाना २०५१ सालमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ र २०७४ सालमा भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए । पूर्वसभामुख ढुङ्गानाको भोली अन्त्येष्टि गरिने छ ।