स्व. ढुंगाना संसदीय मूल्यमान्यता स्थापित गराउने व्यक्ति : मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मी
काठमाडौँ । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पूर्वसभामुख स्व. दमननाथ ढुंगानालाई संसदीय मूल्यमान्यता स्थापित गराउने व्यक्तिको रुपमा आफूले लिएको बताएका छन् ।
सोमवार सानो गौचरणमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुगेका मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मीले स्व।ढुंगानाका जीवनका विभिन्न आयामहरू रहेको बताए । उनले स्व.ढुंगाना कानुनी क्षेत्रमा वरिष्ठ अधिवक्ता भई संवैधानिक, कानुनी, राजनीतिक पक्षका मुद्दाहरूमा बहस गरेको बताए । उनले समन्वयकारी भुमिका निर्वाह गर्ने व्यक्तिका रुपमा आफूले स्मरण गर्ने बताए ।
उनले भने ‘उहाँका जीवनका विभिन्न आयामहरू छन् । कानुनी क्षेत्रको पनि एउटा राम्रो वरिष्ठ अधिवक्ता भएर संवैधानिक, कानुनी, राजनीतिक पक्षका मुद्दाहरूमा पनि बहस गर्नुभयो । मेरै इजलासमा पनि म जिल्ला न्यायाधीश हुँदा बहस गर्नुभएको थियो, काठमाडौंमा । सभामुखको हैसियतले संसदीय मूल्यमान्यता स्थापित गराउनु भयो । समन्वयकारी भुमिका निभाउनुभएको छ । पछिल्लो समयमा मानवअधिकारवादी व्यक्तिको रुपमा पनि काम गर्नुभयो । समाज र राष्ट्रको लागि कानुनी क्षेत्रदेखि राजनीतिक, संसदीय क्षेत्रको पद्धतिमा बसेर गर्नुभएको योगदान स्मरणीय छ ।’
मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मीले स्व.ढुंगानाले समाज र राष्ट्रको लागि कानुनी क्षेत्रदेखि राजनीतिक, संसदीय क्षेत्रको पद्धतिमा बसेर गरेको योगदान स्मरणीय रहेको बताए ।