शिक्षक हुँदै सभामुख बनेका ढुङ्गाना,स्थापित गरेका थिए ‘प्रतिपक्षको सदन’
काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको सोमबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार दिउँसो साढे १ बजे काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको निधन भएको थियो ।
त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो । पूर्वसभामुख ढुङ्गानाको सम्मानमा १७ तोपको सलामी समेत दिइएको थियो ।
अन्त्येष्टि अघि ढुङ्गानाको पार्थिव शरीर ज्ञानेश्वरस्थित सानोगौचरनमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यसक्रममा प्रधानमन्त्री देखी पूर्व प्रधानमन्त्रीहरुले ढुङ्गानाले आर्दशबाट आफुहरु प्रेरित भएको बताए ।
ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भने,‘संसदीय प्रणालीलाई सुदृढ बनाउने उन्नत र व्यवस्थित सोच भएको व्यक्तित्व हुनुहुन्थ्यो ।’
प्रधानमन्त्री ओलीले ढुङ्गानाले नेपालको संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताए । त्यस्तै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले श्रद्धाञ्जली व्यक्त गर्दै ‘संसद् प्रतिपक्षको हो’ भन्ने भाष्य स्थापित गर्न ढुङ्गानाले भूमिका खेलेको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने,‘उहाँको त्यो कदमको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रशंसा भयो । उहाँको निधनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ’, । सभापति देउवाले लोकतन्त्रको बाटो दृढतापूर्वक अघि बढ्न सिकाएको उल्लेख गर्दै त्यसैबाट प्रेरित भएर अघि बढ्ने संकल्प पनि गरे ।
ढुङ्गाना २०४८ सालमा काठमाडौं क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएपछि सभामुख बनेका थिए । उनी २०४८ देखि २०५१ सम्म सभामुख भए ।
ढुङ्गानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गरेका थिए । माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउने भूमिकामा ढुङ्गानाको महत्वपूर्ण योगदान छ ।
सभामुख भएको समय बाहेक उनले राज्यसत्ताको सुविधा समेत लिएनन् । उनले वि.सं. २०२८ सालमा सर्वोच्च अदालत बार एशोसिएशनको महासचिवको रूपमा पनि काम गरेका थिए। ढुङ्गाना २०२८ देखि ०४६ साल सम्म सक्रिय वकालत पेशामा थिए ।
वकालत पेशामा आउनु अघि उनी केही समय शिक्षक समेत भए । ढुङ्गानालाई एक गैरपक्षपातपूर्ण सभामुखको रूपमा चिनिन्छ। ढुङ्गाना २३ वर्षको अन्तराल (२०४८) पछि २०७४ सालमा सक्रिय राजनीतिमा फर्किएका थिए ।
ढुङ्गानाले २०७४ मा भक्तपुर २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव समेत लडेका थिए । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का साझा उम्मेदवार महेश बस्नेतविरुद्ध नेपाली कांग्रेसको तर्फबाट उनले उम्मेदवारी दिए पनि जित हाँसिल गर्न भने सकेनन् ।
कसले कसरी सम्झिए ?
राष्ट्रपति रामचन्द्र पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल रहेका परिवारमा समवेदना प्रकट गरे ।
“पूर्वसभामुख दमननाथ दुङ्गानाको निधनले मर्माहत भएको छु, राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता, नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुङ्गानाले लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान सधै स्मरण हुनेछ, प्रिय ढुङ्गानाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु”, राष्ट्रपतिले भने ।
राष्ट्रपति पौडेलले नेपालको संवैधानिक र संसदीय इतिहासमा ढुङ्गानाको योगदान विशिष्ट रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । ङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका परिवारमा गहिरो समवेदना प्रकट गरे ।
“वि.सं. २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु । नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा उहाँको योगदान सम्झिरहेको छु”, प्रधानमन्त्रीले भने ।
कांग्रेस सभापति शेर बहादुर देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
‘विद्यार्थी जीवनदेखिकै मेरा एक पुराना साथी एवं पूर्वसभामुख ढुङ्गानाको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ ।लोकतन्त्र, मानव अधिकार र न्याय क्षेत्रमा उहाँको महत्वपूर्ण योगदान थियो । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, दिवङ्गत आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु’, सभापति देउवाले भने ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले ढुङ्गानाप्रति दुस्ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । ढुङ्गानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविस्मरणीय योगदान गरेको बताए ।
उनले स्व.ढुंगानालाई नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रुपमा नेपाली जनताले सधैँ सम्झी रहने बताए ।
दमननाथ ढुंगाना र पद्यरत्न तुलाधरले शान्ति सम्झौताको वातावरण र संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भुमिका अविस्मरणीय रहेको बताए । अध्यक्ष दाहालले नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रुपमा ढुंगानालाई सधैँ स्मरण गर्ने बताए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काअध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएकामा दुःख व्यक्त गरेका छन् ।
“वि.सं. २०४७ को संविधान सुझाव आयोगका सदस्य तथा २०४८ सालमा निर्वाचित प्रतिनिधिसभाका सभामुख तथा मेरा मित्र दमननाथ ढुङ्गानाको निधन भएको खबरले म अत्यन्त दुःखी छु”, अध्यक्ष नेपालले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भने ।
पूर्वसभामुख ढुङ्गानाले संविधान सुझाव आयोगको सदस्यका रूपमा संविधान निर्माणमा सँगै भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रजातन्त्र स्थापना, मानव अधिकारको रक्षा, शान्ति प्रक्रियामा निर्वाह गरेको भूमिका तथा नेपालको संसदीय अभ्यासलाई सबल बनाउन दिएको योगदानको अध्यक्ष नेपालले स्मरण गरे ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानन्यायाधीश राउतले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर ढुङ्गानाप्रति श्रद्धाञ्जली प्रकट गरेका हुन् ।
सभामुख देवराज घिमिरे
सभामुख देवराज घिमिरेले स्व.दमननाथ ढुंगानाले संसदलाई बलियो बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताएका छन् । सोमवार स्व।ढुंगानाको अन्तिम श्रद्धाञ्जलीका लागि सानो गौचरण पुगेका सभामुख घिमिरेले स्व.ढुंगानाले संसदलाई कसरी बलियो बनाउने भन्नेबारेमा महत्वपूर्ण योगदान दिएको बताएका हुन् । उनले संसदलाई कसरी बलियो बनाउने भन्ने प्रेरणाको श्रोतको रुपमा स्व.ढुंगानालाई आफूले लिएको बताए ।
उनले प्रजातन्त्र आइसकेपछि संसदीय मूल्य, मान्यतालाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अगुवाइ गर्ने व्यक्तिका रुपमा आफूले चिनेको बताए । स्व.ढुंगानालाई संसद सञ्चालन र संसदको भूमिकाको बारेमा सिक्नुपर्ने एउटा अगुवाको रुपमा आफूले सम्झिने बताए ।
मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी
मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पूर्वसभामुख स्व। दमननाथ ढुंगानालाई संसदीय मूल्यमान्यता स्थापित गराउने व्यक्तिको रुपमा आफूले लिएको बताएका छन् ।
सोमवार सानो गौचरणमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुगेका मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मीले स्व।ढुंगानाका जीवनका विभिन्न आयामहरू रहेको बताए ।
उनले स्व.ढुंगाना कानुनी क्षेत्रमा वरिष्ठ अधिवक्ता भई संवैधानिक, कानुनी, राजनीतिक पक्षका मुद्दाहरूमा बहस गरेको बताए । उनले समन्वयकारी भुमिका निर्वाह गर्ने व्यक्तिका रुपमा आफूले स्मरण गर्ने बताए ।
वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।