काँग्रेसका नेताहरुले आफूले हिँडिरहेको बाटोमा पुनःविचार गर्नुपर्छ : नेता सिटौला

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वसभामुख स्व. दमननाथ ढुंगानाको जीवन चरित्र सार्वजनिक रुपमा आजका राजनीतिक खेलाडीहरुले अनुकरण गर्नुपर्ने बताएका छन् ।

सोमवार सानो गौचरणमा स्व. ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पुग्नुभएका उनले यस्तो बताएका हुन् । उनले स्व. ढुंगाना सादगी नेता रहेको बताएका हुन् ।

उनले गत वर्ष पार्टी कार्यालयमा विपीको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा काँग्रेसले अँगालेको विचार, सिद्धान्त, नीतिका कार्यक्रममा सच्याउनुपर्ने आवश्यकताबारे उल्लेख गर्नुभएको स्मरण गर्दै नेपाली काँग्रेस पार्टी र नेताहरुले आफूले हिँडिरहेको बाटोमा पुनःविचार गर्नुपर्ने बताए ।

उनले भने– ‘उहाँ सादगी नेचरको मान्छे हो, उहाँको जीवन चरित्र सार्वजनिक रुपमा आजका राजनीतिक खेलाडीहरुले अनुकरण गर्नुपर्छ । त्यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । पार्टीको निश्चित दायराभित्र अनेक घटनाहरु, उत्तारचढाव हुन्छन्, त्यसबारेमा केही भन्न चाहन्न । उहाँ नेपाली काँग्रेसको नेता हो । आज भन्दा एक वर्षअघि मात्रै हामी पार्टी कार्यालयमा एउटै कार्यक्रममा थियौँ । विपीको जन्म जयन्तीको सन्दर्भ थियो । उहाँ नेपाली काँग्रेसले अँगालेको विचार, सिद्धान्त, नीतिका कार्यक्रममा कहीँ कतै काँग्रेस पार्टीले बाटो त बिराएको छैन भन्नेकुरा उठाउनुभएको थियो । उहाँको त्यो भनाइबाट मैले नेपाली काँग्रेस पार्टी र नेताहरुले आफूले हिँडिरहेको बाटोमा पुनःविचार गर्नुपर्छ भन्ने मैले बुझेको थिएँ । हाम्रो राजनीतिमा हठको बानी छ नि मैले भनेपछि त्यही कुरा सत्य र अन्तिम हो भन्नेकुरा । उहाँले त्यसलाई प्रश्रय कहिल्यै दिनुभएन । काम गर्दा गल्ती हुन्छ, त्यसको पुनरावलोकन गर्नुपर्छ र समयसापेक्ष बनाएर जनतामा जानुपर्छ भन्नुहुन्थ्यो । उहाँ गतिशिल विचारको मान्छे हो ।’

नेता सिटौलाले नेपाली काँग्रेस राजनीतिमा हठ गर्नेहरुलाई स्व. ढुंगानाले कहिल्यै प्रश्रय नदिनुभएको उल्लेख गरे । स्व. ढुंगाना गतिशिल विचार बोकेर हिँड्ने व्यक्ति भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *