निजी क्षेत्रले सहज रुपमा व्यवसाय गर्नको लागि सिंगल कर प्रणाली आवश्यक : चेम्बर
काठमाडौँ । नेपाल चेम्बर अर्फ कमर्सले निजी क्षेत्रले सहज रुपमा व्यवसाय गर्नको लागि राज्यले एकल कर प्रणाली बनाउन माग गरेको छ ।
सोमवार नेपाल चेम्बर अफ कमर्सले कर सप्ताह अन्तर्गत आन्तरिक राजश्व विभागसँगको अन्तरक्रिया कार्यक्रममा चेम्बरले यस्तो माग राखेको हो । सरकारको दोहोरो कर नीतिको कारणले उद्योगी व्यवसायीहरूलाई व्यवसाय सञ्चालन गर्न समस्या भएको बताएको छ । चेम्बरले कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्ने उल्लेख गर्यो ।
कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले राजनीतिक विकेन्द्रीकरण मात्रै नभएर आर्थिक एकीकरण गर्न आवश्यक रहेको बताए । उनले आर्थिक एकीकरण भएमात्रै पनि निजी क्षेत्रमा रहेका विभिन्न किसिमका अन्योलताहरु हट्ने बताए । उनले पछिल्लो समय बजारमा नक्कली भ्याटबिलको समस्याले व्यवसायीहरूमा त्रास सिर्जना गरेको बताए । उनले केही खराब व्यवसायीको कारण सकारात्मक रुपका काम गरिरहेका व्यवसायीहरू मारमा परेको बताए ।
उनले सरकारले नक्कली भ्याटबिल जारी गर्ने व्यवसायीलाई छानबिन गरी गल्ती नगर्ने व्यवसायीहरूले नक्कली भ्याटबिलको विषयमा उन्मुक्ति पाउनुपर्ने बताए । उनले आयकर ऐनमा पनि परिमार्जन आवश्यक रहेको बताए । उनले आयकर ऐन दफा ५७ ले धेरै अफ्यारो बनाएको भन्दै ट्रान्सफर मूल्य नै किटान गर्न नसकिएको बताए । उनले सम्पत्ति शुद्धीकरण ऐनमा व्यवसायीक कारोबारलाई व्यक्ति खातामा कारोबार गर्न नपाउने व्यवस्था कार्यान्वयनको लागि सम्पूर्ण व्यवसायीहरूको सम्पत्ति अभिलेखीकरण गर्न आवश्यक रहेको बताए ।
उनले सरकार अब प्रतिस्पर्धी कर नीति अपनाउनुपर्नेमा जोड दिए ।
उनले भने ‘राजनीतिक विकेन्द्रीकरण मात्रै नभएर आर्थिक एकीकरण (इकोनमिक इन्ट्रिगेसन) हुन आवश्यक छ । इकोनमिक इन्ट्रिगेसन भए मात्रै अन्यौलता आउँदैन । १ देखि ३ प्रतिशतसम्म गलत व्यवसायीहरू पनि हुन्छ । नक्कली भ्याटबिलबाट पनि जारी गरेको छ । अन्य उद्यमीहरू पनि नक्कली भ्याट बिलमा फसेका छन् । सरकारले नक्कली भ्याटबिल जारी गर्नेलाई कारबाही गर्नुपर्छ । गल्ती नगर्ने व्यवसायीहरूले नक्कली भ्याटबिलको विषयमा उन्मुक्ति पाउनुपर्छ । आयकर ऐनमा पनि परिमार्जन आवश्यक छ । आयकर ऐन दफा ५७ ले धेरै अफ्यारो बनाएको छ । ट्रान्सफर मूल्य नै किटान गर्न सकिँदैन । आयात नगरेको वस्तुलाई मूल्याङ्कन गरेर खरिद बिक्रिमा भएको मूल्यलाई मूल्याङ्कन गरेर कर तिरेर आर्थिक गतिविधि बिस्तार हुँदैन । सम्पत्ति शुद्धीकरण ऐनमा व्यवसायीक कारोबारलाई व्यक्ति खातामा कारोबार गर्न पाइँदैन भनेको सुनेको छु । सम्पत्ति अभिलेखीकरण गर्न आवश्यक छ । सम्पत्तिको स्रोत देखाउन समस्या भएको छ । मुलुकमा व्यवसाय गर्न सिङ्गल कर प्रणाली भए गर्न सहज हुन्छ । प्रतिस्पर्धी कर नीति अपनाउनुपर्छ । नेपालमा कर महँगो हुनासाथ भारतमा उद्योगहरू फस्टाउन थाल्छन् ।’
आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले पछिल्लो समय १८ कम्पनी स्थापना गरी आवश्यकताअनुसारको नक्कली भ्याट बिलको कारोबार गरिरहेको बताए । उनले उद्योग वा बजारबाट उत्पादन किनेको र पैठारी गरेर ल्याएको मात्रै समान बेच्न पाउने कम्पनीले भ्याट बिल जारी गरी सामान बेच्न पाउने बताए ।
तीन वटै स्रोत शून्य भएपनि कम्पनीमार्फत करोडौँको कारोबार गरेर भ्याटबिल काटिरहेको बताए । उनले अहिले बजार यस्तो खालको फण्डामा परेको बताए । उनले नक्कली भ्याट बिलको विषयमा विभागले अहिले पनि अनुसन्धान गरिरहेको बताए । महानिर्देशक आचार्यले आयात निर्यातमा पनि नक्कली भ्याट बिल र कम्पनीको सूचना विभागलाई रहेको भन्दै अनुसन्धान गरि रहेको बताए । उनले गलत नगर्ने व्यवसायीहरूलाई पनि नक्कली भ्याट बिलका विषयले अप्ठ्यारो बनाएको र प्रतिस्पर्धी बजारलाई असर गरेको बताए । उनले गलत क्रियाकलाप निराकरण गर्ने काम कर प्रशासनको मात्रै भनेर बस्न नमिल्ने भन्दै निजी क्षेत्रले पनि गर्नुपर्ने बताए ।
उनले निजी उद्योगी व्यवसायीहरूले दुईतिर कर तिर्नु नपर्ने बताए । उनले उद्योगी व्यवसायीहरूले दुईतिर कर तिरिरहेको भए प्रमाण राख्न आग्रह गरे । उनले नेपालमा दोहोरो कर लागू नहुने उल्लेख गरे । उनले व्यवसायीक कारोबार व्यक्तिगत खातामा गएको सूचना विभिन्न ठाउँबाट विभागलाई आएको दाबी गरे । चेम्बरले सूचना निकालेर आफू मातहतका व्यवसायीहरूलाई सचेत गराउन आग्रह गरे ।