एमालेले पाएको जग्गा दान सम्बन्धीको मुद्दा हेर्न नभ्याउनेमा
काठमाडौँ । व्यवसायी मीनबहादुर गुरुङबाट एमालेले पाएको जग्गा दानको विवादमा दायर भएको रिट निवेदनको पेसी हेर्न नभ्याउने हुँदै स्थगित भएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा उक्त रिटको पेसी तोकिएको थियो । तर, उक्त मुद्दा हेर्न नभ्याउनेमा परेको हो ।
यसअघि आइतबार पनि उक्त मुद्दा हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो ।
अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा यसअघि सर्वोच्चले जग्गा दान लिई हक हस्तान्तरण लगायत काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन गत असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दम्पत्ति र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्यास समेत गरिसकेका छन् ।
अदालतको आदेशसँगै एमालेको पार्टी कार्यालय निर्माणको काम तत्कालका लागि रोकिएको छ ।