सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानुनी प्रबन्ध गर्दैछौँ : यातायातमन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानुनी प्रबन्ध गर्न लागिएको बताएका छन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले धादिङमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । उनकाअनुसार ४९ टन भन्दा बढी भार बोकेर सडकमा गुडाउन नपाउने कार्यविधि बनाएको बताए । उनले ४९ टन भन्दा बढी बोकेर हिँड्दा के कारबाही हुने भन्ने स्पष्टता नरहेकाले सरकारले अहिले त्यसलाई पूर्ण रुपमा रोक लगाउने गरी आवश्यक प्रबन्ध गर्न लागेको बताए । उनले छिमेकी मुलुकहरूको बाटोबाट आएका सामानहरूलाई सीमानाकामै निरीक्षण गरी सडकको भार क्षमता भन्दा बढी बोक्न नदिने बताए ।
उनले सरकारले अब कडाईका साथ नियमावलीलाई लागू गर्ने र आवश्यक परे कानुनलाई पनि संशोधन गरेर अघि बढ्ने सोच बनाएको उल्लेख गरे ।
उनले भने ‘बाटोको क्षमताअनुसार हाम्रो देशमा र संसारमै पनि कुरा के हो भने कति चक्के गाडी हो । थोरै चक्के गाडी छ भने त्यसको भारवहन क्षमता कम हुन्छ । जति चक्का बढायो त्यति त्यसको भारवहन क्षमता बढ्छ । तर हाम्रो देशको बाटोलाई मध्यनजर गरेर हामीले ४९ टन भन्दा बढी भार बोकेर यो बाटोमा हिँड्न नपाउने भन्ने एउटा कार्यविधि बनाएका छौँ । तर त्यो भन्दा बढी हुँदा के गर्ने भन्ने सन्दर्भमा हाम्रो बीचमा त्यति धेरै स्पष्टता छैन । जरिबाना गर्ने, जरिबाना गरिसकेपछि बाटोमा हिँड्न पाउने त पक्कै पनि हुनु हुँदैन । त्यसले गर्दा हामीले त्यसलाई पूर्ण रूपले रोक लगाउँदै छौँ । विदेशबाट आएका सामानहरू छन् भने, छिमेकी मुलुकहरूको बाटोबाट आएका सामानहरू छन् भने त्यो चेक प्वाइन्टमा नै निर्धारण गरिनुपर्छ । हाम्रो बाटोमा कति क्षमता भार बोकेका चारचक्के, १० चक्के वा २८ चक्के गाडीहरू पनि छन् । ती गाडीहरूले कति क्षमतासम्मको भार बोकेर हिँड्न पाउँछन् भन्नेकुराको निर्धारण चेक प्वाइन्टमै निगरानी गर्नुपर्छ । यस कुरामा नेपाल सरकारले अब कडाईका साथ नियमावलीलाई कार्यविधिलाई आवश्यक पर्छ भने कानुनलाई पनि संशोधन गरेर अघि बढ्ने सोच राखेका छौँ ।’
मन्त्री दाहालले सरकारले विकासका कामहरु अघि बढाउने हुटहुटी रहेको बताए । उनले सडक सञ्जाल व्यवस्थित गर्न सरकारले आवश्यक काम गरिरहेको बताए ।