प्रमुख दलहरुबीच विश्वासको वातावरण बनाउन जरुरी छ : सिटौला

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रमुख राजनीतिक दलहरुबीच विश्वासको वातावरण निर्माण गर्न जरुरी रहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गर्न र मुलुकलाई सम्मुन्नत बनाउन विस्तृत शान्ति सम्झौताका पक्षधर दलहरु काँग्रेस, एमाले र माओवादी केन्द्रका नेतृत्वबीच विश्वासको वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए ।

नेता सिटौलाले प्रमुख दलहरुबीच विश्वासको संकट गहिरिँदै गएको उल्लेख गर्दै त्यसले पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाको बाँकी काम अघि बढ्ने अवस्था नदेखिएको जिकिर पनि गरे ।

उनले मुलुकमा सामाजिक न्याय, शान्ति र समृद्धिका लागि विस्तृत शान्ति सम्झौताको जगमा संविधान निर्माण भएको भन्दै त्यसलाई सार्थक बनाउने कार्यमा दलहरुबीच घनिभुत छलफल हुनुपर्ने पनि स्पष्ट पारे ।

नेता सिटौलाले प्रमुख दलहरुबीचको अविश्वास बढ्दै जाँदा संसद, सरकार र न्यायपालिकाले समेत काम गर्न नसक्ने अवस्था बनेको तर्क समेत गरे ।

नेता सिटौलाले भने– ‘यो विस्तृत शान्ति सम्झौतालाई सम्झिँदा हिजोका ७ राजनीतिक दल, जसको मुल नेतृत्व नेपाली काँग्रेस र एमालेले गर्दछन् आजका दिनमा । अर्को माओवादी विद्रोही, उनीहरुको बीचमा अरु कुरामा गर्न सकिएन भने पनि मूलभूत रुपमा यो शान्ति प्रक्रिया र यससँग जोडिएका हरेक कुरामा, हरेक विषयमा परस्परमा विश्वास गरेर अघि गयौँ भने मलाई लाग्छ । ४ वर्ष पनि नलाग्ला । हामी २/३ वर्ष भित्र शान्ति प्रक्रियालाई पूर्णता दिनसक्छौं । तर परस्परमा विस्तृत शान्ति सम्झौतासँग जोडिएका विषयमा विश्वास निर्माण गर्न सकिएन भने फेरि पनि हामी समस्यामा पर्नसक्ने खतरा छ । त्यसैले आज विस्तृत शान्ति सम्झौतालाई सम्झेर तपाईहरुले जुन कार्यक्रम राख्नुभयो । यो दिनमा आज म यति नै भन्न चाहन्छु–यो नेपालको राजनीतिक विकासको आधारशिला हो । यो गणतन्त्रको आधारशिला हो, लोकतन्त्रको आधार शिला हो । शान्तिको आधारशीला हो । गरिव जनताका हामी समाजवादी आर्थिक कार्यक्रम अन्तर्गत गरिव जनताको जीवनस्तर उठाउँछौं भन्ने कमिटमेण्ट गरेको संविधान हो यो । लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रहेर समृद्ध राष्ट्र निर्माण गर्छौं भन्ने लक्ष्य निर्धारण गरिएको संविधान हो यो । तर त्यो कार्यदिशामा, त्यो क्षेत्रमा काम गर्न बहुत धेरै बाँकि छ । यो काम गर्नका लागि राजनीतिक वृत्तमा मुल राजनीतिक वृत्तमा विश्वास स्थापना गर्नु आजको मुल आवश्यकता हो । यो कार्यदिशामा पनि कन्फिक्टी म्यानेजमेण्टको एउटा मुल तत्व परस्परको विश्वास हो । परस्परमा विश्वास नगरेसम्म जब्बरजस्ती कन्फिलिक्टको म्यानेजमेन्ट गर्न सक्नुहुन्न । द्वन्द्वको समाधान गर्न सक्नुहुन्न । पहिलो त द्वन्द्वरत पक्षहरुलाई एक ठाउँमा ल्याउनका लागि परस्परमा विश्वास जगाउन सक्नुपर्दछ । त्यसलाई तपाईले औपचारिक रुपमा गोष्ठी, छलफल गरेर पार लगाउन सक्नुहुन्न । अनेकौ अनौपचारिक भेटघाट, छलफलबाट तपाईले विश्वास निर्माण गर्न सक्नुभयो भने त्यसको जगबाट द्वन्द्वलाई व्यवस्थापन गर्न सक्नुहुुन्छ, समाजलाई पनि व्यवस्थापन गर्न सक्नुहुन्छ । र राष्ट्रलाई पनि समुन्नत राष्ट्रको रुपमा द्रुतगतिका साथ अघि बढाउन सक्नुहुन्छ भन्ने मेरो विश्वास हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *