उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने
काठमाडौँ । मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको छ ।
आयोगले मंगलबार उम्मेदवारको नामावली सार्वजनिक गरेसँगै आज उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली सार्वजनिक गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ ।
आयोगले आज बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने बताएको छ । अपराह्न १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ । आजै उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको छ ।
यसअघि आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा ४१० उम्मेदवारले मनोनयन दर्ता गरेका थिए । अहिले रक्त रहेका ४४ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको छ । जसमा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।