जलवायु परिवर्तनबाट हुने संकटलाई कम गर्न सरकार प्रतिबद्ध छ : वनमन्त्री शाही

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट हुने असरलाई कम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपालको झन्डै ८० प्रतिशत जनसंख्या जलवायु प्रेरित जोखिमको सामना गरिरहेको दाबी गर्दै उनले सो असरलाई कम गर्न सरकार कटिबद्ध र प्रतिबद्ध रहेको बताएका हुन् ।

विश्व बाल दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शाहीले जलवायु संकटका कारण प्रभावित क्षेत्रका बालबालिकाहरूको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभूति गर्न सरकारले प्रभावकारी नीतिहरू र कार्यक्रमहरूको कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको बताए ।

जलवायु संकट बाल अधिकारको संकट पनि भएको उल्लेख गर्दै उनले त्यस्ता संकट समाधानका लागि सरकारले जलवायु संकटको पैरवीलाई जोड दिनुपरेको स्पष्ट पारे ।

मन्त्री शाहीले भने ‘जलवायु परिवर्तनबाट हुने प्रभावलाई कम गर्न सरकार कटिबद्ध र प्रतिबद्ध रहेको कुरा म यहाँ राख्न चाहन्छु । जलवायु संकटका कारण प्रभावित क्षेत्रका बालबालिकाहरूको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभूति गर्न सरकारले प्रभावकारी नीतिहरू र कार्यक्रमहरूको कार्यान्वयनलाई प्राथमिकता दिइआएको छ । र, दिने नै छ । जलवायु संकट केबल विश्वव्यापी आपतकाल मात्रै होइन, यो एउटा बालबालिका बाल अधिकारको संकट पनि हो । यसले शिक्षा, स्वास्थ्य, सुरक्षाको अधिकार, स्वच्छ पानी र हिंसाबाट जोगाउने अधिकारलाई पनि खतरामा पार्छ । नेपालको झन्डै ८० प्रतिशत जनसंख्या जलवायु प्रेरित जोखिमहरूको सामना गरिरहेको अवस्थामा पनि बालबालिका र युवाहरू यस संकटबाट बढी प्रभावित भएका छन । युनिसेफले भर्खरै प्रकाशित गरेको जुन पुस्तक छ, त्यो प्रतिवेदनले बालबालिका र युवाहरूले जलवायु सम्बन्धी क्रियाकलापहरूबारे लिएका बाचाहरूलाई समेटेको छ । र प्रतिवेदनमा समेटिएका तपाईँहरूका आवाज हाम्रै भविष्यका लागि आशाका दीप हुन् । यस प्रतिवेदनले तपाईँहरूको प्रतिवद्धतालाई पनि उजागर गरेको छ । म आफ्नो परिवार र समुदायमा जलवायु परिवर्तनका जनचेतना फैल्याउने, कार्बन फुटप्रिन्ट घटाउने स्रोतहरूको संरक्षण गर्ने र जलवायु अभियानको पैरवी पनि गरिरहेको छु । र गर्ने नै छु ।’

त्यस अवसरमा मन्त्री शाहीले जलवायु संकट कम गर्नका लागि घर, परिवार र समुदाय स्तरमा नै जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *