भक्तपुरमा भजन संस्कृति, वृद्धवृद्धालाई औषधी (भिडिओ)

काठमाडौँ । बेलुकी करिब ५ः३० बजेको समय । भक्तपुरमा रहेको भैरवनाथ मन्दिरको प्राङ्गणमा एका–एक गर्दै जम्मा हुन्छन् भक्तजनहरू । उनीहरू मध्य धेरैजसो जागिरबाट अवकाश पाएकाहरू हुन् । उनीहरू दिनभर आफ्नो काममा व्यस्त भएपनि साँझ पर्न साथ भजन गाउन भैरवनाथ मन्दिरमा जम्मा हुन्छन् । यसबेला उनीहरू आफ्ना दुःख, सुखका कुराहरू एकअर्कामा साटासाट गर्दै रमाउने गरेका देखिन्छन् ।

‘यस प्राङ्गणमा ठूलो भैरवनाथको मन्दिर छ, ५ तले मन्दिर छ, श्री लक्ष्मीको । अनि विभिन्न मन्दिरहरू छ, ती देवताहरूको नाममा हामीले भजन गाएर, प्रार्थना गरेर, आराधना गरेर आर्सीवाद लिन्छौँ ।’ भजन समूहका नेतृत्वकर्ता ज्ञानेन्द्र नाथ कायस्थले बताए ।

आकाश भैरव नव भजन गुठीका नेतृत्वकर्ता ज्ञानेन्द्र नाथ कायस्थका अनुसार परम्परादेखि चल्दै आएको भजनलाई दफा भजन भनिन्छ । उनले बाह्रै महिना ३६५ दिन नै भैरवनाथको प्राङ्गणमा बसेर बाजा बजाएर भजन गाउँदै प्रार्थना गर्दै आइरहेको बताए ।

उनले पहिले पहिले मनोरञ्जनको साधन नहुने र त्यस्तो अवस्थामा भक्तहरू भग्वानको पुजाआरधना गरेर, भजन गाएर समय बिताउने गरेको जानकारी दिए ।

उनले हाल भजन समूहमा ३० जनाको समूह रहेको बताए । कहिले २० जना त कहिले १०, १२ जना पनि हुने गरेको बताए ।

उनले भने ‘यसको ऐतिहासिक कुरा के छ भने हामीले परापूर्व कालदेखि नै गर्दै आएका हौँ । भजनको सुरुवात २७०/२८० वर्षदेखि नै भजन गाउँदै आएको हो । त्यहाँदेखि हाम्रो पुर्खाहरूले पुस्ता, पुस्तामा हस्तान्तरण गर्दै गर्दै हामीले भजन सिक्दै आएका हौँ ।’

उनले मन्दिरमा भजन गाउने परम्परा पुस्तौँ देखि चल्दै आएको बताए । उनले यस धार्मिक कार्यलाई जोगाउन समय समयमा भजन र बाजा बजाउन अभ्यास गराइने जानकारी दिए ।

उनले भने ‘वृद्धहरूको दिउँसो फुर्सद हुन्छ, कहाँ जाने कहाँ जाने हुन्छ । त्यसैले उहाँहरू भग्वानकोमा आएर गीत गाएर, प्रार्थना गरेर, आराधना गरेर धेरै सान्त्वना मिल्छ उहाँहरूलाई । हामीले समय समयमा भजन सिकाउने, बाजा सिकाउने गर्छौँ । त्यतिखेर सबैजना समय मिलाएर आउनुहुन्छ । कसैलाई डिस्टर्ब नहुने गरेर किसिमले त्यसरी हामी सिकाउँछौँ । ’

उनका अनुसार भजन गाउने परम्परा धेरै पहिलेदेखि चल्दै आएकाले यसका रचनाकारहरू फरक फरक रहेका छन् । उनले जेष्ठ सदस्यहरूले नै भजन लेख्दै रचना गर्दै आइरहेको जानकारी दिए । उनले भक्तपुर नेवारहरूको राजधानी भएकाले यहाँका राजाहरू जस्तै रणजित मल्ल, भुपतेन्द्र मल्ल राजाहरूका बारेमा पनि गीतहरू लेखिएको सुनाए । उनले उक्त गीतहरूलाई हालसम्म गाउँदै आएको बताए ।

भने ‘भक्तपुर नेवारहरूको राजधानी भएका हुनाले यहाँका राजाहरू जस्तै रणजित मल्ल, भुपतेन्द्र मल्ल राजाहरूका बारेमा पनि गीतहरू लेखिएका छन् । जुन भजन अहिलेसम्म हामी गाउँदै छौँ ।’

उनले भजन गाउँदा रमाइलो भन्दा पनि आनन्द आउने बताए । दिनभर सबैजना काममा व्यस्त हुने र तनावका साथसाथै थकाइ पनि लागेको हुन्छ । त्यसकारण केही समयको आरामको लागि भएपनि मानिसहरू यहाँ भजन गाउन आइपुग्ने उनको भनाई छ ।

पहिले रेडियो, टेलिभिजन जस्ता मनोरञ्जनका साधनहरू थिएनन् । त्यत्तिखेर भजन गाउने, साथीहरूसँग मनको कुरा पोख्ने काम नै मनोरञ्जनको गतिविधि भएको उनले बताए ।
त्यसो गर्दा मन आनन्द र शान्त हुने उनको भनाइ छ ।

उनले भजनकृतन गरेर कुनै पनि आम्दानी नहुने बताए । उनले दाताहरूका सहयोगबाट भजनका सामाग्रीहरू खरिद गरेर भजन गाउँदै आएको बताए ।

उनले भने ‘ यसमा आम्दानी हुने होइन । हाम्रा दाताहरू हुन्छन् । भजनको लागि कसैले जग्गा राखेको हुन्छ, कसैले पैसा राखेको हुन्छ । त्यसैबाट हामी सञ्चालन गर्छौँ ।’

उनले यस परम्परालाई जोगाउन युवा सहभागिताको धेरै नै महत्त्व रहेको बताए । उनले यस कार्यमा भक्तपुर नगरपालिकामा पनि अग्रसर रहेको जानकारी दिए । उनले नगरपालिकाले समय,समयमा के कस्ता समस्याहरू छन् भनेर सोध्ने र सुझावहरू पनि दिने गरेको बताए ।

समयअनुसार बाध्यबाधनहरू पनि निकै महँगो भइरहेको उनको ठम्याइ छ । उनले प्राय गुठी, संस्कार सम्बन्धित रहेर काम गर्ने मानिसहरूको आर्थिक अवस्था अलि नाजुक नै रहेको बताए । उनले त्यस्ता कार्यमा धेरै समय खर्चेका कारण आज उनीहरूको आर्थिक अवस्था नाजुक हुन पुगेको सुनाए । जसकारण उनीहरू अरु ठाउँमा काम गर्न जान पाउँदैन । त्यस्ता व्यक्तिहरूलाई सरकारले आर्थिक सहयोग वा अवसरहरू दिनुपर्ने उनले माग गरे ।

उनले भने ‘समयअनुसार बाध्यबाधनहरू पनि महँगो भइरहेको छ । गुठी/संस्कारसँग सम्बन्धित रहेर काम गर्ने मान्छेहरूको आर्थिक अवस्था अलि नाजुक नै छ । किनकि त्यसमा समय दिनुपर्यो । अरु ठाउँमा जान पाउँदैन । त्यस्ता व्यक्तिहरूलाई चैँ आर्थिक सहयोग वा अवसरहरू दिनुभयो भने धेरै राम्रो हुन्थ्यो ।’

उनले यसरी हरेक साँझ भजन गाउन पाउँदा एकदमै आनन्द लाग्ने बताए । ‘दाजुभाइहरू भेटेर सुख दुखका कुराहरू साट्न, नयाँ कुराहरू सिक्न र भजन पनि सिक्न पाउने हुँदा रमाइलो लाग्छ’ उनले भने । उनले हरेक पूर्णिमामा ९ बाजा भजन गाउँदा अझ धेरै समय लाग्ने बताए ।

त्यसबीच भक्तपुर निवासी गंगा र जमुना नागाजु पनि त्यहाँ भजन गाउन आइपुगेका छन् । उनीहरू जम्ल्याहा दिदी–बहिनी हुन् । उनीहरू सानैदेखि बुबा र हजुरबुबासँग भजन गाउन त्यहाँ पुग्ने गर्दथे । आज उनीहरू ८४ वर्षका भइसकेका छन् । उनीहरूको छाला चाउरिएर कपाल सेतै फुलिसकेका छन् । तर पनि शारीरिक दुर्बलताले उनीहरूलाई भजन गाउनबाट रोक्न सेकेको छैन । उनीहरू दैनिक भजन गाउन यसरी नै भैरवनाथ मन्दिरमा आउने गरेका छन् । भग्वानको नाम लिने बेलामा चिसो पनि नहुने उनीहरू सुनाउँछन् ।

भने ‘हामीले सूर्यविनायक भग्वानको भजन गाएको, भैरवको भजन, सबै भग्वानको भजन गाउँछौँ हामी । भग्वानको नाम लिने बेलामा चिसो हुदैन् । धेरै रमाइलो छ नि । बच्चैदेखि भजन गाउन आउँथ्यौँ । बाउहरू, हजुरबुबाहरू पनि आउनुहुन्थ्यो पहिले ।’

उक्त भजन समूहमा करिब ३० जना सदस्यहरूका छन् । तर कहिले १०–१२ जना मात्र हुन्छ भने कुनैबेला ५–६ जना उपस्थित हुने भजन समूहका सदस्य वर्षीय कृष्णहरी निर्भबले जानकारी दिए ।

उनले बाजे, बराजुको पाला देखि नै त्यस स्थानमा भजन गाउँदै आएको बताए । उनले बाह्रै महिना, ३ सय ६५ दिन नै भैरवनाथ मन्दिरमा भजन गाइने जानकारी दिए । उनले सबैजना मिलेर गुठी जसरी नै भजन समूह सञ्चालन गर्दै आएको बताए ।

उनले भने ‘१२ महिना, ३६५ दिन नै भजन गाउँछौँ । १ डेढ घण्टा भग्वानको शरणमा बस्दा मन शान्त हुन्छ, नराम्रो बिचारहरू आउँदैन ।’

उनले दिनको १ डेढ घण्टा भग्वानको शरणमा बस्दा मनमा शान्ति हुने बताए । साथै युवापुस्ताहरूले पनि अहिले भजनकृतनमा ध्यान दिन थालेको उनको भनाई छ । उनले समय मिलाएर कोही कोही युवाहरू अहिले पनि भजनकृतनमा सहभागी हुन आउने गरेको जानकारी दिए ।

उनले पढ्न नजान्ने सदस्यहरूले दिमागमै छापेजस्तै गरि भजन गाउने गरेको सुनाए भने पढ्न सक्ने सदस्यहरूलाई किताब हेरि राख्नुपर्ने झन्झट हुने गरेको बताए ।

‘पढ्न नजान्नेहरूले त झन् दिमागमै छापेर राखेका हुन्छन् । जान्नेहरूले चैँ किताब हेर्नुपर्छ । सबै जनाले एक डेढ घण्टा भजनमा समय दिएको राम्रो हो ।’ भजन समूह सदस्य निर्भबेले भने ।

निर्भबे सानो छदा पहिलोपल्ट बुबासँग भजन गाउन त्यहाँ पुगेका बताए । उनले त्यसबेला आफूलाई खुबै रमाइलो लागेको बताए । त्यसपछि उनी कहिले बुबासँग त कहिले बुबा बिनै भजन गाउन त्यहाँ पुग्न थाले । उनले दिउँसो कोही खेतबारीमा जाने, कोही अफिसमा जाने तर बेलुकी १, डेढ घण्टा सबै सदस्य मिलेर भजन गाउने गरेको बताए ।

अर्का सदस्य बद्रि प्रसाद सिंख्वाल भने कामबाट अवकाश भएपछि मात्र भजनकृतनमा जोडिएका हुन् । उनी अहिले हरेक साँझ १–डेढ घण्टा भजनकृतमा रमाउने गरेका छन् । उनले भग्वानको भजनकृतनमा सहभागी हुन् पाउँदा एकदमै खुसी लागेको बताए ।

उनले भने ‘यो महिनामा चैँ सामानहरू बाजाहरू ल्याउने मेरो पालो । १/१ महिनामा पालो हुन्छ । म त पछि मात्र आएको हुँ । काम बाट रिटायर भएपछि । बेलुकी १, डेढ घण्टा बितायो । अनि घर गयो सुत्यो । खुसी लाग्छ ।’

उनले भजनकृतनका लागि सरकारले केही सहयोग नगरेको गुनासो गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *