नेपालका राजनीतिक दलहरूमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण मुलुक बन्न नसकेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व बिना देश विकास गर्न सम्भव नरहेको बताए । उनले बहुदलीय व्यवस्था स्थापनाका ३५ वर्षहरूमा २८ भन्दा बढी प्रधानमन्त्री पाइसके पनि राजनीतिक स्थायित्व नहुँदा विकास हुन नसकेको बताए ।

उनले हामी नेपालको विकास र समृद्धिको चाहना गर्ने नेपाली जनताहरूले अहिलेसम्म राजनीतिक स्थायित्वको आधार तयार गर्न नसकेको बताए । उनले अब मुलुकलाई निर्णायक राष्ट्रिय शक्तिको खाँचो रहेको र समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य नेकपा एमालले मात्रै पूरा गर्नसक्ने उल्लेख गरे ।

नेकपा एमालेले मात्रै मुलुकमा राजनीतिक स्थायित्वको सुनिश्चितता दिनसक्ने बताए । नेपालका राजनीतिक दलहरूमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग रहेको बताए ।

उनले भने ‘नेपालको राजनीतिलाई सही बाटोमा अघि बढाउने हो भने, दुनियाँको विकास र समृद्धिको अनुभवबाट शिक्षा लिने हो भने कुनैपनि राष्ट्रको विकास र समृद्धिका लागि तीन वटा विषय अपरिहार्य हुन्छ । त्यो भनेको दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व । आज हाम्रो मुलुक किन बनेन भन्दा राजनीतिक अस्थिरताका कारण यो मुलुक बन्न सकेन । बहुदलीय व्यवस्था स्थापनाका ३५ वर्षहरूमा हामीले २८ भन्दा बढी प्रधानमन्त्री व्यहोरिसकेका छौँ । एउटा प्रधानमन्त्रीले औसतमा सवा वर्ष पनि काम गर्न पाउँदैन । हाम्रा छिमेकीहरूले प्रगति गरे भनेर चर्चा गर्ने गर्दछौँ । चीनमा के छ, कार्यकारी राष्ट्रपति हुने गर्दछ । त्यहाँ सी जिनपिङ राष्ट्रपति हुनुहुन्छ । लगातार तीन कार्यकाल चीनको नेतृत्व गर्नुभएको छ । अर्कोतिर भारतमा हेरौँ । भारत विकासको बाटोमा अघि बढिरहेको छ । भारतमा कार्यकारी प्रधानमन्त्री हुने गर्दछ । नरेन्द्र मोदी प्रधानमन्त्री हुनुहुन्छ, लगातार तेस्रो कार्यकालको नेतृत्व गर्दै हुनुहुन्छ । तर हामी नेपालको विकास र समृद्धिको चाहना गर्ने नेपाली जनताहरूले अहिलेसम्म राजनीतिक स्थायित्वको आधार तयार गर्न सकेका छैनौँ । यही समयमा हामीले नेपालमा एक दर्जन भन्दा बढी प्रधानमन्त्री बनाइसक्यौँ । के यस्तो अवस्थामा यो अस्थिरताको अवस्थामा नेपाली जनताको विकास र समृद्धिको आकांक्षा पूरा हुनसक्छ रु सक्दैन । त्यसअर्थमा नेकपा एमालेले संकल्प गरेको छ, अठोट गरेको छ, नेकपा एमालेले भनेको छ । अब मुलुकलाई निर्णायक राष्ट्रिय शक्तिको खाँचो छ । त्यो निर्णायक राष्ट्रिय शक्ति भनेको नेकपा एमाले हो । नेकपा एमालेले मात्रै यो मुलुकमा राजनीतिक स्थायित्वको सुनिश्चितता दिनसक्छ । नेपालका राजनीतिक दलहरूमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छ । जसले यो मुलुकलाई संकटबाट बाहिर निकाल्ने सामर्थ्य राख्दछ । विकास र समृद्धिको जसले नयाँ भिजन प्रस्तुत गर्ने सामर्थ्य राख्दछ ।’

महासचिव पोखरेलले एमाले देश बनाउने यात्रामा रहेको र देश बनाएर छोड्ने प्रतिबद्धता जनाए । उनले नेकपा एमालेले नै राष्ट्रको स्वाधीनता र स्वाभिमान कायम राख्ने बताए । उनले समाजमा अराजकता मच्चाए र निराशा छरेर देश बन्न नसक्ने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *