बालेनले १ लाख जरिवाना तोकेपछि एमाले महासचिवले भने- स्टण्टबाजी हो

काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गमा आयोजित नेकपा (एमाले)को जागरण सभाका क्रममा भएको फोहोरका लागि एक लाख जरिवाना लगाएपछि एमाले महासचिव शंकर पोखरेलले मेयर बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् ।

शुक्रबारको सभामा जरिवानाको पर्चा जारी गरिएको विषयमा महासचिव पोखरेलले मेयर बालेनलाई एमालेविरोधी गतिविधिमा सक्रिय भएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘कार्यक्रम समापन भएपछि आयोजककै तर्फबाट फोहोर संकलन गरिंदै थियो । महानगरलाई फोहोर उठाउनका लागि सहयोग गर्न अनुरोध गरिएको थियो । तर, अनुरोध अस्वीकार गर्दै जरिवानाको प्रचार गरियो ।’

पोखरेलका अनुसार आयोजकका स्वयंसेवकहरूले फोहोर संकलन गरी गाडीमा राख्दै गर्दा महानगरले जरिवाना पर्चा जारी गरेको थियो । ‘कार्यक्रमस्थल सफा भइरहेको अवस्थामा पनि जरिवानाको पर्चा पठाइनुले मेयर बालेनको प्राथमिकता सरसफाइ नभएर प्रचारबाजीमा रहेको देखिन्छ,’ उनले लेखेका छन् ।

यो पनि : एमालेको जागरण सभाले वातावरण प्रदूषण भएपछि बालेनले गराए १ लाख जरिवाना

महासचिव पोखरेलले मेयर बालेनलाई जरिवानाको स्टण्टबाजी गरेको आरोप लगाउँदै यो कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताएका छन् । उनका अनुसार एमालेको जागरण सभा यस्ता गतिविधि विरुद्ध सचेतना फैलाउनका लागि आयोजना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *