पाँच दिनमा ३४ बिरामीको घुँडाको शल्यक्रिया

काठमाडौँ । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले पाँच दिनमा ३४ जना बिरामीका ४३ घुँडाको शल्यक्रिया गरेको हो ।

अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत धिरज मैनालीका अनुसार लामो समयदेखि घुँडा खिइएका बिरामीको शल्यक्रिया गरिएको हो । अस्पतालका मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीले नागरिकलाई अझ सहज र सुलभ सेवा उपलब्ध गराउन अस्पताल लागिपरेको जानकारी दिए ।

निर्देशक भण्डारीका अनुसार अस्पतालले प्रत्येक वर्ष कम्तीमा चार पटकसम्म दुर्गम भेगमा औषधोपचार अभावमा रहेका नागरिकलाई हाडजोर्नी र नशाको शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ । अमेरिकाबाट आएका अर्थोपेडिक सर्जन डा रवि बस्यालले अर्थोपेडिक अस्पतालसँग सन् २००९ देखि नै सहकार्य गर्दै आएको र हाल सम्म करिब ६ सय घुँडाको शल्यक्रिया भएको जानकारी दिए ।

उनले नेपाल अर्थोपेडिक अस्पतालका चिकित्सक दक्ष, अनुभवी भएकाले नेपाल अर्थोपेडिक अस्पतालमा समेत घुडा खिइएका बिरामीहरूको सफल शल्यक्रिया भइरहेको यसको उपचारका लागि अस्पताल नै सक्षम रहेको बताए ।

अनाथ, असहाय, निम्न वर्गीय तथा अपाङ्गता भएका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहनेगरी गैरनाफामूलक संस्थाका रूपमा सन् १९९८ मा स्थापना भएको यस अस्पतालले हाडजोर्नीका बिरामीका लागि सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *