ललितपुरको ऐतिहासिक अदालत पुन : निर्माण सुरु

ललितपुर । जिल्लाको पाटनस्थित विश्व सम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालतको भवन पुनः निर्माण सुरु भएको छ । सम्पदा क्षेत्रभित्र अवस्थित जीर्ण अवस्थामा रहेको उक्त अदालत दसैँलगत्तै पुनः निर्माण सुरु भएको हो ।

पुनः निर्माण सुरु भएको ऐतिहासिक अदालतको भवन वि.सं १९९० को भूकम्प अगाडि तीन तलाको थियो । पुरानै स्वरूपमा भवन निर्माण गर्न नक्शा पास भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

भारतीय दूतावासको सहयोगमा काम सुरु भएको ऐतिहासिक अदालत भवनको पुनः निर्माणको पतली भैरव निर्माण व्यवसायी कम्पनीले १८ महिनामा सम्पन्न गर्ने गरी जिम्मा लिएको कम्पनीका इञ्जिनियर किसन कुटाभारले जानकारी दिए ।

अठार करोडमा पुरानै संरचनामा निर्माण हुन लागेको अदालतमा पाटन दरबार सङ्ग्रहालयको कार्यालय रहनसक्ने दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले जानकारी गराए । उनले भने, ‘लामो समयको प्रतीक्षापछि जीर्ण अवस्थामा रहेको अदालत भवन पुनः निर्माण सुरु भएको छ । पूरा नै शैलीमा निर्माण भएपछि पाटन दरबार क्षेत्रको स्वरूप अझ आकर्षक देखिने छ ।’

जीर्ण भवनभित्र रहेका सामान सुरक्षितसाथ अर्को ठाउँमा सारिएको ललितपुरस्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी सूचना अधिकारी पाठकले जानकारी दिए । उनका अनुसार ऐतिहासिक अदालत भवनलगायत पाटनदरबार क्षेत्रका अन्य ऐतिहासिक सम्पदा केही पुनः निर्माण हुँदै छन् भने केही पुनः निर्माणको प्रक्रियामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *