नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना
काठमाडौँ । नेपाल र जापानबिचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना गरिएको छ ।
सामाजिक सेवा मुलक गैर–नाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको यस संस्थाले नेपाल र जापानका उद्योगपति, व्यापारी, तथा व्यवसायीक समुदायबिच सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ । साथै, व्यापार, कृषि, उद्योग, र पर्यटनमा तथ्याङ्क तथा जानकारी संकलन गरी दुवै देशको विकासमा टेवा पुर्याउने कम्पनीको भनाइ छ ।
प्रथम वार्षिक साधारण सभामा निर्वाचित अध्यक्ष, निर्वाचित उपाध्यक्ष साथै सञ्चालक सदस्यहरूको उपस्थिति थियो । निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजको कार्यालयको उद्घाटन जापानी दूतावासका मिसन उप–प्रमुख तमुरा ताकाहिरोले गरेका थिए ।
यो चेम्बर कुनै मुनाफा वितरण नगर्ने गरी सञ्चालन गरिने जनाइएको छ, र आर्जित मुनाफा चेम्बरका उद्देश्यहरू पूरा गर्न मात्र खर्च गरिने व्यवस्था रहेको छ । सदस्य बन्न इच्छुक १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले रु. १०,००० शुल्क बुझाएर सदस्यता प्राप्त गर्न सक्नेछन्, तर सदस्यता हस्तान्तरण गर्न भने सकिने छैन । संस्थाले समाज कल्याण ऐन २०४९ तथा कम्पनी ऐन २०६३ अनुसार कानुनी प्रक्रिया पालना गर्दै वैदेशिक आर्थिक, प्राविधिक, तथा वस्तुगत सहयोग लिनुपरेमा समाज कल्याण परिषद्को पूर्व स्वीकृति लिने कम्पनीले जनाएको छ ।
यस चेम्बरको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २७ मा रहेको छ । कम्पनीका अनुसार चेम्बरको कोष सदस्यता शुल्क, अनुदान, तथा अन्य वैधानिक स्रोतबाट संकलन गरी सञ्चालन गरिनेछ । कुनै संशोधन आवश्यक परेमा, साधारण सभाबाट पारित विशेष प्रस्तावका आधारमा मात्रै कार्यान्वयन गरिने कम्पनीले जनाएको छ । नेपाल र जापानको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वासका साथ सबैमा सहकार्यका लागि अपिल गरेको कम्पनीले जनाएको छ ।