शहीदहरूको सपना पूरा गर्न कांग्रेस सधैँ लाग्छ : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरूका अधुरा सपना पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
सोमवार जनकपुरमा पार्टीका नेता एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्दै उनले सो कुरा बताएका हुन् । २०१७ सालमा कू गरी राजा महेन्द्रले बिपी कोईराला लगायतका नेता, कार्यकर्तालाई जेलमा कोचेपछि ठाकुरले उनीमाथि बम प्रहार गरेका थिए । सो घटनाको स्मरण गर्दै सभापति देउवाले जनताको अधिकार खोस्ने राजा महेन्द्रविरुद्ध बम हान्ने व्यक्ति ठाकुरले प्रजातन्त्र पुनःप्राप्तीको लडाइँका देखाउनुभएको समर्पण सबैका लागि अनुकरणीय रहेको बताए ।
उनले जेलमा रहँदा आफूले ठाकुरलाई प्रजातन्त्रका लागि लडाई लड्नुपर्छ भन्ने अथक योद्धाको रुपमा भेटेको स्मरण पनि गराए । सभापति देउवाले ठाकुरको योगदानको उच्च सम्मान गर्दै पार्टीले उहाँको पत्नी मञ्जु ठाकुरलाई संविधान सभा सदस्य बनाएको र आगामी दिनमा पनि त्यस्तै अवसर दिने आश्वासन समेत दिए ।
सभापति देउवाले भने ‘२०१७ सालमा राजा महेन्द्रले कू गरेर नेपाली जनताको अधिकार खोसेर सारा नेपाली जनताका प्रत्येक नेताहरू बिपी कोइरालालगायतका नेता, कार्यकर्तालाई जेल हालेको थियो । त्यस्तो व्यक्ति, त्यस्तो राजाको खिलाफमा हाम्रो पार्टी सशस्त्र आन्दोलन गर्यो । त्यसमा अरविन्द ठाकुरजीले धेरै ठूलो योगदान दिनुभएको छ । बम समेत हान्नुभएको छ । त्यस्तै हाम्रो शहीद नै भए दुर्गानन्द झा । त्यसकारण त्यस्तो व्यक्ति जो हुनुहुन्छ । आज मैले उहाँको प्रतिमा शिलान्यास गर्ने मौका पाएँ । अत्यन्तै खुशी लाग्यो मलाई । यस्तो अवस्थामा उहाँकी पत्नी मञ्जु ठाकुरजीलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । उहाँ हाम्रो दलको तर्फबाट संविधान सभा सदस्य पनि हुनुहुन्छ । भोलि पनि कहीँ न कहीँ उहाँलाई ठाउँ दिनुपर्छ भन्ने पक्षमा हाम्रो पार्टी छ । उहाँले भोली कहीँ नकहीँ ठाउँ पाउनु हुन्छ । उहाँका छोराहरू रोशन ठाकुर र राहुल ठाकुर हुनुहुन्छ । उहाँहरूसहित सम्पूर्ण परिवारजनमा मेरो हार्दिक सम्मान छ । हाम्रो पार्टीको सम्मान छ । अरविन्द ठाकुरजीले जो योगदान दिनु भएको छ । यसका लागि उहाँहरूको ठूलो योगदान भएकाले उहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । अव मैले भन्नुपर्ने धेरै कुराहरू छैन । हामीसँगै जेलमा थियौँ । उहाँ छुटेपछि उहाँलाई एकपल्ट अपर हाउसमा मेम्बर बनाएका थियौँ । उहाँको अचानक निधन भयो । मैले जेलभित्र देखेको हामी साथमा थियौँ । कहिल्यै नथाक्ने, हरेश नखाने, लड्नुपर्छ, भिड्नुपर्छ, प्रजातन्त्रका लागि लड्नुपर्छ भन्ने व्यक्ति हो उहाँ । त्यस्तो व्यक्ति जसलाई सम्मान गर्नु भयो तपाईँहरूले । त्यसकरण सबै तपाईँहरूलाई हार्दिक धन्यवाद तथा बधाई दिन चाहन्छु । र उहाँले छोडेर जानु भएको सपना पूरा गर्न हामी सबै लाग्नेछौँ ।’
सभापति देउवाले काँग्रेसले आफ्ना शहीदको हितमा सधैँ काम गर्दै आएको दाबी समेत गरे ।