कानूनअनुसार दर्ता भएका क्रसर उद्योग तत्काल नवीकरणको व्यवस्था मिलाउन क्रसर व्यवसायीको माग
काठमाडौं । कानूनअनुसार दर्ता भएका क्रसर, बालुवा तथा खानी उद्योगबाट नियमानुसार दस्तुर लिई अविलम्व नवीकरणको व्यवस्था मिलाउन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले माग गरेको छ ।
मंगलवार महासंघको ‘तेस्रो महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा सम्मान’ कार्यक्रममार्फत सरकारसँग यस्तो माग गरेको हो ।
कार्यक्रम बोल्दै महासंघका नवनिर्वाचित अध्यक्ष सीताराम न्यौपानेले सरकारले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुलाई संरक्षण गर्ने हिसावमा नीति निर्माण गर्नुपर्ने बताए ।
उनले २०७२ साल असार मसान्तपछि क्रसर उद्योगको नवीकरण रोकिएकोप्रति महासंघले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए । उनले सरकारले क्रसर व्यवसायीहरुको मागलाई अहिलेसम्म सम्बोधन नगरेको गुनासो गरे ।
अध्यक्ष न्यौपानेले २०७७ सालमा क्रसर, बालुवा उद्योगमाथि लगाइएको दूरीसम्बन्धी मापदण्डबारे सर्वोच्च अदालतको आदेशमा मापदण्डलाई अति लचकता अपनाइ पुनःविचार गर्न भनेपनि हालसम्म मापदण्ड संशोधन नगरेकाले व्यवहारिक हुनेगरी संशोधन गर्न माग गरे ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मुलुकमा बहुमतको सरकार हुँदा पनि सरकार निरिह रहेको बताए ।
उनले वर्तमान सरकार बनेसँगै उत्साहित भएका व्यवसायीहरु निरासामा बाचिरहेको बताए ।
उनले सरकार गठन भएको चार महिनामा पनि निर्माण तथा क्रसर व्यवसायीहरुले सरकार भएको अनुभुति गर्न नसकेको बताए ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले क्रसर उद्योगमा देखिएका समस्या समाधानमा सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले नेपालको विकास निर्माणमा अत्यावश्यक वस्तु क्रसर उद्योगबाट राज्यलाई पु¥याउने योगदानहरु महत्वपूर्ण रहेको बताए ।
उनले नेपालमा क्रसर उत्पादन निर्माण समग्री सम्बन्धि कानून निर्माणमा अहिले सरकारले राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयक पेश गरेर छलफलको तयारीमा रहेको बताए ।
उनले उक्त विधेयकलाई समितिले कसैको मुख नहेरी आगामी अधिवेशनमा संसदमा लैजाने तयारी गरेको जानकारी दिए ।
उनले कुनै मन्त्रीहरु आउँदा सनकको भरमा दर्ता भएका वा नभएका तथा एक दिन काम गर्ने र अर्को दिन बन्द गर्ने पद्धतिको अन्त्यका लागि क्रसर सम्बन्धि कानून आवश्यक रहेको बताए । उनले सरकारले बनाउने क्रसर सम्बन्धि कानून निर्माण व्यवसायीमैत्री हुने बताए ।
महासंघको हालै सम्पन्न महाधिवेशनले अध्यक्षमा न्यौपाने, वरिष्ठ उपाध्यक्षमा चन्द्रमणि अधिकारी, क्षेत्रीय उपाध्यक्षमा कोशी प्रदेशबाट रोहितबहादुर कार्की, मधेशबाट रामनारायणप्रसाद यादव, वागमतीबाट देवराज लुइँटेल, गण्डकीबाट लिलाधर बराल र लुम्बिनीबाट मिनबहादुर शाही निर्वाचित भएका छन् । महासचिवमा देवराज तामाङ चुनिएका छन् ।