रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारण पहुँचलाई हरेक घरधुरीमा पुर्याउँछौ : मन्त्री गुरूङ
गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरूङले सरकारी सञ्चारमाध्यमलाई सबल र प्रतिस्पर्धी बनाइने बताएका छन् ।
सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालद्वारा बुधवार पोखरामा आयोजित ‘राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका’ विषयक अन्तरक्रियामा उनले रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारण पहुँचलाई आगामी वर्षभित्र देशका हरेक घरधुरीमा पुर्याइने बताए ।
“सार्वजनिक सेवा प्रसारणअन्तर्गत आएको रेडियो नेपाल र नेपाल टेलिभजनलाई सेवामूलकसँगै प्रतिस्पर्धी सञ्चारमाध्यमका रूपमा विकास गर्छौं”, मन्त्री गुरूङले भने, “गोरखापत्र र राससलाई पनि सोही प्रारूपमा सञ्चालन गर्नु आवश्यक छ ।”
रासस र गोरखापत्रले समेत विभिन्न राष्ट्र भाषामा सञ्चार सामग्री उत्पादन र सम्प्रेषण गर्दै आएको उल्लेख गर्दै मन्त्री गुरूङले आमसञ्चारका माध्यम समावेशी चरित्रको हुनुपर्ने धारणा राखे ।
रेडियो नेपालबाट २५ भाषामा समाचार तथा कार्यक्रम उत्पादन र प्रसारण हुँदै आएकामा निकट भविष्यमा थप राष्ट्र भाषाको समाचार प्रसारणको तयारी भइरहेको सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरूङले जानकारी दिए ।
राज्यद्वारा सञ्चालित चारवटै सञ्चारमाध्यमको पुनःसंरचना र पुनःव्यवस्थापनको काम सुरू गरिएको उनले बताए । उनले सञ्चारसँग सम्बन्धित ऐन, कानुन धेरै पुराना भएकाले आगामी वर्षभित्र परिमार्जन सबै सञ्चार कानुनलाई समायनुकूल परिमार्जन गरिने बताए ।
मन्त्री गुरूङले अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्चालको व्यवस्थापन तथा नियमनका लागि कानुन निर्माणको प्रक्रिया अगाडि बढेको बताए । मन्त्री गुरूङले नेपाल टेलिकम, हुलाकलगायत राज्यको स्वामित्वमा रहेका संस्थाहरूलाई गुणस्तर सुधारसहित प्रतिस्पर्धी बनाउनुपर्ने बताए ।
सार्वजनिक सेवा प्रसारण संस्थाको सुदृढीकरणका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने उनले बताए ।