स्थानीय तह उपनिर्वाचन : चुनावमा जित्ने दलहरुको आ-आफ्नै दावी
राति १२ बजेदेखी मौन अवधि सुरु हुने
काठमाडौं । यही मंसिर १६ गते अर्थात् आगामी आइतबार देशभर स्थानीय तहको उपनिर्वाचन हुँदैछ । देशभरका ४१ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको हो ।
यसबीचमा उम्मेदवारहरु चुनाव प्रचारप्रसारमा छन् । चुनाव प्रचारप्रसारको अन्तिम दिन आज मतदातालाई रिझाउनमा उम्मेदवारहरु व्यस्त छन् ।
स्थानीय तह उपनिर्वाचनमा मनोदयन दर्ता गराएकामा मध्ये ३१ जनाले उम्मेदवारी फिर्ता लिएपछि ३ सय ७६ जना चुनावी मैदानमा होमिएका छन् । निर्वाचन हुने तीन स्थानमा तीन जना निर्विरोध निर्वाचित समेत भइसकेका छन् ।
ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमश नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी स्थानीय तह उपनिर्वाचनका लागि दर्ता भएका २५ राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी), नेपाली कांग्रेस (वी.पी.), नेपाली जनता दल र आम जनता पार्टी गरी ५ वटा दलले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता नगराएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचन हुने स्थानीय तहमा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेका छन् । जसमध्ये महिला मतदाता १ लाख ११ हजार ८ सय ९६ र पुरुष मतदाता १ लाख १४ हजार ९ सय एवं अन्य मतदाता ३ जना रहेका छन् ।
ती मतदाताका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र स्वीकृत भएको आयोगले जनाएको छ । स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २६ स्थानमा मात्रै उम्मेदवारी दर्ता गरेको छ ।
रास्वपाले देशका विभिन्न निर्वाचन क्षेत्रमध्ये २६ वटा स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको रास्वपाले काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत उम्मेदवारी दर्ता गराएन ।
यो पनि : स्थानीय तह उपनिर्वाचन : तयारीमा जुटे दलहरू, एक्लै की गठबन्धन ?
निर्विरोध निर्वाचन सम्पन्न भएका तीन स्थान बाहेक ४१ स्थानका विभिन्न पदहरूमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत ३७६ जना उम्मेदवार मतदाता रिझाउन प्रयासरत छन् ।
४१ स्थानीय तहमध्ये अध्यक्ष दुई, उपाध्यक्ष चार, प्रमुख एक, उपप्रमुख एक र ३३ वडाध्यक्ष पदमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । स्थानीय तहको उपविर्नाचनमा मूख्य रुपमा नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिका, ग्रामथान गाउँपालिका, गौरीशंकर नगरपालिका, नलगाड नगरपालिका, महाबु गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा कांग्रेसले जितेको थियो ।
पुथा उत्तरगंगा र सर्केगाड गाउँपालिकामा माओवादीले जितेको थियो । यो पटक कांग्रेस र माओवादीले जितेका यी गाउँपालिकामा विजयी हाँसिल गर्ने लक्ष्यका साथ एमाले मैदानमा उत्रिएको छ । कांग्रेस र माओवादी भने आफ्नो विरासत कायम राख्दै थप पालिकाहरुमा आफ्नो पकड जमाउने पक्षमा देखिएका छन् ।
निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा सम्बन्धीत पक्षको ध्यानाकर्षण गराएको छ ।
आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता पालना गर्न र गराउन सबै सरोकारवालाहरूलाई स्मरण गर्दै शंकास्पद व्यक्तिको गतिविधिमा उच्च निगरानी गर्न सरकारलाई निर्देशन दिइएको छ ।
निर्वाचनका क्रियाकलापहरूमा परिचालन हुने कर्मचारी सुरक्षाकर्मीहरूबाट सबै उम्मेदवार र राजनीतिक दलहरूप्रति समान व्यवहार गर्न निर्देशन दिइएको आयोग प्रवक्ता नीता पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निर्वाचनमा सहभागि ददलहरुले चुनाव जित्ने आआफ्नै दावी गरिरहेका छन् । यसैबीच आज (बिहीबार) राति १२ बजेदेखी प्रचारप्रसार निषेध(मौन)अवधि लागू हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधिको समयमा उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउने छैनन् । मंसिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
मौन अवधिमा के-के गर्न पाइँदैन ?
- कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार नगर्ने नगराउने।
- निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि नगर्ने नगराउने।
- कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्ने नगराउने।
- सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर नगर्ने गराउने।