सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयो : मोहन वैद्य

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका संयोजक मोहन वैद्यले जनताले राज्यसत्ताप्रति नै विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका छन् ।

सत्तारुढ दलहरु, राजनीतिक व्यवस्था र राज्यसत्ताप्रति नै जनतामा असन्तुष्टि, आक्रोश बढदै गएकाले त्यसको विकल्पको खोजी गर्ने अवस्था पैदा भएको उनको जिकिर थियो ।

बिहीवारबाट काठमाडौंमा शुरु भएको पार्टीको राष्ट्रिय एकता महाधिवेशनमा बोल्दै संयोजक वैद्यले मुलुकमा क्रान्तिका लागि पस्थिति अनुकुल बन्दै गएको दाबी समेत गरे ।

उनले क्रान्तिकारी कम्युनिष्ट आन्दोलन हालका लागि कमजोर अवस्थामा रहेको स्वीकार गर्दै आगामी दिनमा बलियो भएर जाने विश्वास व्यक्त गरे ।

संयोजक वैद्यले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको नेतृत्व क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले लिने पनि बताए ।

उनले भने ‘सरकार सञ्चालक राजनीतिक दलहरु र समस्त व्यवस्था तथा राज्यसत्ताप्रति नै जनतामा असन्तुष्टि, आक्रोश तथा वितृष्णा बढ्दै जाने र विकल्पको खोजी गर्ने अवस्था पैदा हुन थालेको छ । उक्त कुराहरुमाथि दृष्टि दिँदा आज एकातिर क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकुल बन्दै जान थालेको देखिन्छ । परन्तु अर्कोतिर आत्मागत परिस्थिति भने कमजोर नै रहेको छ । तर यो पनि अस्थायी कुरा हो । परिस्थितिले कोल्टे फेर्दै जानेछ । आज क्रान्तिकारी कम्युनिष्ट आन्दोलन कमजोर अवस्थामा भएपनि भोलि बलियो हुनेछ । यो कुरा नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासले पनि प्रमाणित गरेको छ ।’

संयोजक वैद्यले साम्राज्यवादी र प्रतिक्रियावादीहरुले मुलुकलाई संकटको डिलमा पु¥याएको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *