एनपिएल : एनसेल फाउण्डेसनले प्रत्येक चौकामा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्ने
काठमाडौं । यही मंसिर १५ गतेदेखी पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण टियु क्रिकेट मैदानमा सञ्चालन हुँदैछ । प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहेको छ । यसैबीच एनसेल फाउण्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासंग जोडेको छ ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक चौका बाफत एनसेल फाउण्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री प्रदान गर्ने जनाएको छ ।
यस्तो किसमको कार्यक्रमले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास फाउण्डेसनको छ । शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने फाउण्डेसले अपेक्षा गरेको छ । विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक किटमा आवश्यक शैक्षिक सामग्री समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नुका साथै विद्यार्थीहरूलाई पठनपाठनमा योगदान पुर्याउने छ ।
“क्रिकेट एक यस्तो खेल हो, जसले एकतावद्ध बनाउँछ र प्रेरणा पनि दिन्छ । यस पहलमार्फत हामी क्रिकेटप्रतिको चाख र यसको शक्ति प्रयोग गरी ग्रामीण र दुर्गम विपन्न क्षेत्रका विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न चाहन्छौं । शिक्षा दिगो विकासको मुख्य आधार हो । यो पहलले हाम्रो भावी पुस्तालाई सक्षम बनाउने प्रतिबद्धताको प्रतिनिधित्व गर्छ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।
शैक्षिक सामाग्रीहरूको वितरण क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा गरिनेछ । सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरुसम्म शैक्षिक सामाग्रीहरु पुगेपछि उनीहरुको अध्यननमा सहजता आउने फाउण्डेसको विश्वास छ ।
क्यानले एनपीएलका लागि एनसेलसँग साझेदारी सम्झौता गरिसकेको छ । यस साझेदारी अन्तर्गत, एनसेल, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको ‘पावर्ड बाई’ पार्टनरको रूपमा रहेको छ । यसले नेपालको आफ्नै घरेलु क्रिकेट प्रतिभाहरुको निर्माणमा गर्न सहयोग पुर्याउनेछ ।
यो साझेदारी एनसेलको ‘हामी तपाईंकै लागि’ भन्ने आफ्नो थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरुप रहेको छ । महत्वपूर्ण सामाजिक आवश्यकताहरू पूरा गर्न प्रभावकारी पहल मार्फत समुदायहरूको समृद्धिमा फाउण्डेसनले योगदान गर्दै आइरहेको छ ।