बालबालिकाको अवस्था बुझ्न संसदीय समितिले चार प्रदेशमा स्थलगत भ्रमण गर्ने

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले चार वटा प्रदेशको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समिति बैठकले बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन मापन सम्बन्धमा अध्ययन गर्न कर्णाली, लुम्बिनी, मधेस र कोशी प्रदेशमा अध्ययन तथा भ्रमण गर्ने निर्णय गरेको हो । बालबालिकाका सङ्गठनहरू, बालबालिकाका लागि स्थानीय तथा प्रदेश सरकारले बनाएका ऐन र तिनको कार्यान्वयनको अवस्था लगायत विषयमा अध्ययन गर्न समितिले स्थलगत भ्रमण गर्न लागेको समिति सभापति तुलसाकुमारी दाहालले बताइन् ।

उनकाअनुसार समितिले स्थानीय तहहरूमा संगठित भएका बालबालिकाहरूसँग क्लबहरू विभिन्न जाती, भाषा र लिङ्गको आधारमा छन् कि छैनन् भने छुट्टै छलफल गर्नेछ । समितिले बालबालिकासम्बन्धी स्थानीय तहहरूले बनाएको ऐन र ऐनको कार्यान्वयनको अवस्थाका बारेमा स्थानीय तहका सामाजिक तथा बालबालिका शाखा, शिक्षा शाखा र सरोकारवालाहरूसँग छलफल गर्ने सभापति दाहालले बताइन् ।

उनले कोशी प्रदेशमा मुस्लिम समुदायका बालबालिकाको अवस्था र मधेस प्रदेशमा मधेसी समुदायका बालबालिकाको अवस्थाका बारेमा अध्ययन गरिने बताइन् ।

उनले भनिन् ‘आजको बैठकमा हामीले बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन मापन सम्बन्धमा स्थलगत भ्रमण गर्ने विषयमा छलफल भयो भ्रमण गर्ने तालिका राखेका छौं । दुई ठाउँमा हामीले स्थलगत भ्रमणको कुरा राखेका छौं । कोसी र मधेस प्रदेशमा र लुम्बिनी र कर्णाली प्रदेशमा प्रदेशमा अनुगमन गर्ने कार्यतालिका बनाएका छौं । भ्रमणमा हामी विशेष गरी तीन वटा विषयमा केन्द्रित रहनेछौँ । एउटा हामी बालबालिकासँग छुट्टै छलफल गर्छौं । स्थानीय तहहरूमा संगठित भएका बालबालिकाहरूसँग क्लब विभिन्न जाती, भाषा, लिङ्गको आधारमा बनेको छ कि छैन ? र बालबालिकाको स्थिति के छ भनेर स्थानीय तहमा छलफल गर्छौं । त्यहाँका स्थानीय सरकारसँग पनि हामी छलफल गर्छौं । जनप्रतिनिधिहरू, शिक्षा शाखा प्रमुखहरू र महिला बालबालिका शाखा हेर्ने सरोकारवालाहरूसँग छलफल गर्छौं । बालबालिकाको नेटवर्कका लागि स्थानीय सरकारहरूले बनाएको ऐनको विषयमा पनि हामी अध्ययन गर्नेछौँ । त्यस्तै प्रदेश सरकारले बालबालिका सम्बन्धी कस्तो नीति बनाएको छ ? र त्यो नीतिको कार्यान्वयनको अवस्था के छ ? भनेर बाल सहभागिताको विषयलाई हामी अध्ययन गर्छौं । अध्ययनका क्रममा हामी पत्रकारहरू, त्यो क्षेत्रका विज्ञहरू र सम्बन्धित मन्त्रालयका मन्त्रीहरू र महिला तथा बालबालिका समितिहरूमा समेत छलफल र अध्ययन गर्नेछौँ । खासगरी एकल अधिकारको सूचि र साझा अधिकारको सूचिका लागि कस्ता कस्ता ऐनहरू उहाँहरुले निर्माण गर्नुभयो र ती ऐनहरूको कार्यान्वयनको अवस्था के छ ? र त्यसमा बालबालिकाको सहभागिताको कुरालाई हेर्नेछौँ । कोशी प्रदेशमा खासगरी मुस्लिम समुदायका बालबालिकाको अवस्था र मधेस समुदायको बालबालिकाको अवस्था पनि हामी अध्ययन गर्नेछौँ ।’

समितिका दुई वटा टोली स्थलगत अध्ययन तथा भ्रमणको लागि भ्रमणमा जानेछन् । कोशी तथा मधेस प्रदेशको स्थलगत भ्रमणमा जने टोलीले विराटनगर, जनकपुर, सिराहा र उदयपुरमा रहेका स्थानीय तह र बाल क्लबहरूसँग छलफल गर्नेछ । यता कर्णाली तथा लुम्बिनी प्रदेशमा जाने टोलीहरूले नेपालगञ्ज र सुर्खेत लगायतका क्षेत्रमा छलफल तथा अध्ययन गर्नेछ । भ्रमण तालिका चार दिनको रहने सभापति दाहालले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *