समुदायमा आमा समूहको सक्रियता
विराटनगर । सुनवर्सी नगरपालिका वडा नम्बर २ बरालटोल अमरदहमा एउटा आमा समूह छ, सिर्जना स्वास्थ्य आमा समूह । यो आमा समूह हरेक महिना छलफलमा जुटिरहेको हुन्छ । बिहीबार पनि छलफलमा नै व्यस्त थियो । समूहमा बोलाइएका आमाहरू कोही बच्चा च्यापेर आएका, कोही काम गर्दा गर्दै दौडिएर भेला भएका थिए । कहिले खुल्ला ठाउँमा छलफल गर्छन्, कहिले कसैको घरमा बसेर छलफल गरिरहेका हुन्छन् ।
बराल टोलमा रहेको आमा समूहमा १७ जना आमाहरू छन् । यो आमा समूहले गाउँघरमा हुने स्वास्थ्य, सरसफाइको बारेमा छलफल गर्ने अनि गर्भवती र सुत्केरीका समस्याको बारेमा छलफल गरिरहेका हुन्छ । त्यसको सहजीकरण गर्ने काम महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका राजश्री ढुङ्गानाले गरिरहेकी हुन्छिन् ।
राजश्रीका अनुसार, गर्भवती महिलाको घर पहिचान, ४२ दिन भित्रको सुत्केरी, प्रथम पटक गर्भ जाँच गरेको नगरेको, आठ पटक गर्भ जाँच भए नभएको बारेमा छलफल हुने गरेको छ । आमा समूहको बैठकमा नै नियमित गर्भ जाँच, आइरन चक्की खाए नखाएको, चर्पीको प्रयोग, सरसफाइ लगायतको विषयमा छलफल हुने गरेको आमा समूहकी सदस्य राधिका कार्कीले जानकारी दिइन् ।
‘नियमित अस्पताल जाने, झाडा पखाला रोकथाम अभियान, डेँगी नियन्त्रणमा पनि आमा समूहले सचेतना फैलाउने काम गरेको छ, उनले भनिन्, गर्भवतीलाई नियमित गर्भ परीक्षण र अस्पतालमा सुत्केरी गराउने बारेमा बढी छलफल हुन्छ ।’
खोपको बारेमा जानकारी लिएर नियमित गर्भवती, सुत्केरी, खोप, झाडा पखाला, बचत, डेँगी, कुष्ठरोग, सरसफाइ बारेमा सामाजिक परिचालक मार्फत आमा समूहलाई प्रशिक्षण हुँदै आएको अर्की सदस्य सीता खड्काले बताइन् । सहारा नेपालले यस्ता आमा समूहहरूको लागि बैठकमा सहयोग गर्दै आएको छ । हात्तीपाइले तथा कुष्ठरोग जस्तो समस्या भएकाहरूको पहिचानको काममा पनि आमा समूहले सहयोग गर्दै आएको स्वास्थ्य चौकी अमरदहका इन्चार्ज सुरेश महतोले जानकारी दिए ।
मोरङ जिल्लाका ७७ वटा आमा समूहलाई नियमित बैठक सञ्चालनको लागि परियोजनाले काम गरिरहेको सहारा नेपाल मोरङका कार्यक्रम सुपरभाइजर सौरभ बगालेले बताए ।
नेपालमा पाइएका उष्णप्रदेशीय रोगहरूको बारेमा नागरिकसम्म पुर्याई त्यसको रोकथामको लागि फेयरमेडको सहयोगमा कोशी प्रदेशका ३ वटा जिल्लामा यो कार्यक्रम सञ्चालित रहेको छ। फेयरमेडका कोशी प्रदेश संयोजक डम्बरसिंह गुरुङले विभिन्न १० प्रकारका उपेक्षित उष्णप्रदेशीय रोगहरू, नवजात शिशु स्याहार र अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गरिरहेको बताए । आमा समूह मार्फत धेरै कामहरू भएको देख्दा यो कार्यक्रम निक्कै नै प्रभावकारी देखिएको उल्लेख गरे ।
मोरङका १७ पालिका मध्ये जम्मा ७ वटा मात्र कार्यक्रम गर्दै आएकोले ती सबै पालिकामा यो कार्यक्रम पुर्याउनु पर्ने लक्ष्य राखिएको गुरुङको भनाई छ । पत्रकारहरूको स्थलगत निरीक्षण पछि विराटनगरमा भएको अन्तरक्रियामा परियोजनाले २०२१ देखि अहिलेसम्म समुदाय स्तरमा गरेको कार्य प्रगतिको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा सहारा नेपालको तर्फबाट सहसचिव लालबहादुर गिरीले सहारा नेपालले झापा र मोरङमा गरेका कामहरू प्रभावकारी देखिएको उल्लेख गरे ।