काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा पाँच टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ । नेपालमा आयोजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा कुल चार राष्ट्रका पाँच टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल भलिबल संघको आयोजना र सेन्ट्रल एसियन भलिबल संघ (काभा) को संयोजनमा आगामी मंसिर २२ देखि २९ गतेसम्म नेपालमा क्लब च्याम्पियनसिप हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालको दुई क्लबसहित इरानको चादौर मालो क्लब, भारतको कालिकट हिरोज र मालदिभ्सको एचडिसी क्लबले चुनौती प्रस्तुत गर्ने भएका हुन् ।

नेपालका भने लिग च्याम्पियन हेल्प नेपाल स्पोट्स क्लब र गण्डकी प्रदेशले क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् । नेपाल भलिबल संघले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

भलिबल संघले काभा महिला नेसन्स लिग आयोजना गरेपछि यस वर्ष दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो । काभा पुरुष क्लब भलिबल पहिलोपल्ट सुरु हुँदा नेपालमा आयोजना हुँदैछ । काभा महिला क्लब भलिबल मालदिभ्समा भएको थियो । जहाँ नेपालको टोली नेपाल पुलिस क्लब अपराजित रहँदै च्याम्पियन बनेको थियो ।

पछिल्ला समयमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफलतासँगै भलिबल संघले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । भलिबल संघले क्लब च्याम्पियनसिप गर्न करिब एक करोड खर्च लाग्ने अनुमान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्ले २५ लाख अनुदान प्रदान गर्ने बाँकी विभिन्न संघसंस्थाहरूबाट प्रायोजन लिने संघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *