नगरकोट भ्रमण वर्ष–२०८२, तयारी सुरू
भक्तपुर । चाँगुनारायण नगरपालिकाले एक लाख विदेशी पर्यटकलाई नगरकोट भित्र्याउने लक्ष्यसहित आयोजना गर्न लागेको नगरकोट भ्रमण वर्ष–२०८२ को तयारी सुरू गरेको छ । विसं २०८२ वैशाख १ गतेदेखि सुरू हुने भ्रमण वर्षको तयारी थालिएको आज चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बताए ।
भ्रमण वर्षको क्रममा वर्षभरि नगरपालिकाको वडा नं १ देखि ९ सम्मकै सम्पूर्ण क्षेत्रमा रहेको ऐतिहासिक सम्पदा, कला, संस्कृति, प्राकृतिक सौन्दर्यता, विभिन्न जातीय चाडपर्व, यहाँका उत्पादनलगायत बारेमा स्वदेशी तथा विदेशी पर्यटकलाई जानकारी दिने उद्देश्यले भ्रमण वर्षको तयारी सुरू गरेको बताए ।
नगर प्रमुख खत्रीले भने ‘विसं २०८२ भित्र एक लाख विदेशी पर्यटक र लाखौँ आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यका साथ दीर्घकालीन रूपमा नगरकोटको विकास र समृद्धिको यात्रा तय गर्न नगरकोट भ्रमण वर्ष–२०८२ को तयारी सुरू गरेका छौँ, नगरवासीका प्रत्येक घरघरबाट सहभागिता रहने गरी भ्रमण वर्ष मनाउँछौँ, यसले नगरकोटको लुकेका सयौँ विषय र संरचनालाई उठाउने छ भन्ने विश्वास लिएका छौँ ।’
भ्रमण वर्ष भव्यरूपमा सम्पन्न गर्न रु पाँच करोडको बजेट विनियोजन गरेको बताउँदै उहाँले विभिन्न समिति एवं उपसमिति गठन गरी सबै नगरवासीको सहभागिता रहने गरी भ्रमण वर्ष बनाउने उनले बताए ।
नगरकोटबाट देखिने सूर्योदय, सूर्यास्त र हिमाली दृश्य मात्र नभई १ देखि ९ वडासम्म सम्म पर्यटकलाई पुर्याउने र यहाँका बारेमा देश र विदेशमा सन्देश प्रवाह गर्न भ्रमण वर्ष सफल हुने उनले बताए । नगर प्रमुख खत्रीले भ्रमण वर्षमा आउने पर्यटकलाई नगरकोटको साथै भक्तपुर, काभ्रेको मण्डनदेउपुर, बनेपा, काठमाडौँको शङ्करापुर नगरपालिकाका होटल एवं यहाँका होमस्टेमा सुविधायुक्त रूपमा खान र बस्ने व्यवस्थापन गरिने पनि बताए ।
चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडा अध्यक्ष धनबहादुर लामाले नगरकोट भ्रमण वर्ष–२०८२ को तयारी सुरू भइसकेको बताउँदै यसलाई सफल पार्न प्रदेश र सङ्घीय सरकारको पनि सहयोग आवश्यक रहने बताए । उनले नगरकोट जाने सडक ११ वर्षदेखि अलपत्र पर्दा यहाँको पर्यटन व्यवसाय धरापमा परेको भन्दै पर्यटकलाई आकर्षित गर्न नगरपालिकाले विभिन्न कार्ययोजना अघि सारेको बताए ।
प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसी, स्वतन्त्र पार्टीका चाँगुनारायण नगर समितिका अध्यक्ष रोशन थापालगायतले भ्रमण वर्ष सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताए ।