मतदान गर्न पाउने नागरिकको अधिकारको सदुपयोग गर्नुस् : प्रकाशमान सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षको निर्वाचनका लागि मतदान गरेका छन् । आइतबार बिहान उपप्रधानमन्त्री सिंहले पकनाजेँलस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
०७९ को निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि अहिले उपनिर्वाचन भइरहेको हो । मत हालेपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उपप्रधानमन्त्री सिंहले निर्वाचनका लागि राम्रो व्यवस्थापन गरेको पाएको बताए । उनले बिहानको समयमा चिसो भएकाले आम नागरिकहरू नआएपनि दिउँसो आफ्नो अधिकार प्रयोग गरेर राम्रो वडाध्यक्ष चयन गर्नका लागि मतदान गर्न आउने अपेक्षा गरे । मतदान गर्न पाउने नागरिकको अधिकारको सदुपयोग गर्न उनले आह्वान गरे ।
उपप्रधानमन्त्री सिंहले भने, ‘बिहानको समय छ । काठमाडौंको मौसम ठण्डाठण्डा भएको हुनाले अलि घाम लागेपछि यहाँ भीडभाड बढ्ला । निर्वाचनको व्यवस्थापनदेखि सबैकुरा राम्रो छ । बढी भन्दा बढी मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरेर एउटा राम्रो वडाध्यक्ष बन्नको लागि मतदान गर्नुहोला । यो तपाईँहरूको अधिकार हो, त्यसको सदुपयोग गर्नुहोला ।’
काठमाडौँ–१६ मा नेपाली काँग्रेसले देवेन्द्र पाठक, नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रोजिना श्रेष्ठ र एकीकृत समाजवादीबाट (माओवादीको समर्थनमा) मीनबहादुर मानन्धर चुनावी प्रतिस्पर्धामा छन् ।