सुरु भयो कांग्रेस-एमालेले गठबन्धन गरेको पुथा उत्तरगंगाको मतगणना
काठमाडौं । रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । सर्वदलीय र सर्वपक्षीय बैठकपश्चात आज बिहान १० बजेदेखि मतगणना सुरू गरिएको हो ।
उत्तरगंगा गाउँपालिकामा कुल ११ हजार १ सय ३० मतदाता रहेकोमा उपनिर्वाचनमा ५ हजार ९ सय ३२ मत मात्रै खसेको थियो । यहाँ उपाध्यक्ष पदमा माओवादी केन्द्रबाट नरपुरा बुढा र नेपाली कांग्रेसको रुख चुनाव चिन्हबाट एमालेकी केशकुमारी तुलाचनका बीचमा प्रतिष्पर्धा भएको छ । कांग्रेसको रूख चिह्नबाट चुनावमा भिडेकी तुलाचन एमाले जिल्ला कमिटी उपसचिव हुन् ।
०७९ को स्थानीय तह निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष माओवादी केन्द्रकी भूपेन्द्रा बुढा निर्वाचित भएकी थिइन् । भूपेन्द्राको गत भदौ २८ गते काठमाडौंबाट घर तर्फ आउँदै गर्दा सवारी दुर्घटनामा मृत्यु भएको थियो । अहिले उम्मेदवार बनेकी नरपुरा बुढा भूपेन्द्राकी दिदी हुन् ।
पुथा उत्तरगंगा गाउँपालिका माओवादीको पकेट क्षेत्र मानिन्छ । वडा नम्बर २ को वडाध्यक्ष पदमा भने उम्मेदवारी दिएका एमाले र १ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती सर्वसम्मत निर्वाचित भइसकेका छन् ।