जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कर्णाली याक्स पराजित

काठमाडौं । सिद्धार्थ बैंक प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ ।

आज भएको एनपिएलको तेस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको हो ।

जितका लागि पाएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा पुरा गर्‍यो ।

जनकपुर बोल्ट्सको जितमा कप्तान अनिल शाहले आक्रामक अर्ध शतक बनाए । ४२ बलको सामना गरेका अनिलले ६२ रन बनाए ।

जनकपुरका मार्की तथा ओपनर आशिफ शेखले ३६ रन बनाए । लाहिरु मिलन्थाले २४ रनको आक्रामक पारि खेले । जेम्स निशाम १६ रनमा नट आउट रहे ।

कर्णालीका लागि मौसम ढकाल र जिशान मकसूदले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो ।

कर्णाली याक्सका कप्तान सोमपाल कामी र अर्जुन घर्तीले अन्तिम दुई ओभरमा आक्रामक ब्याटिङ गरे ।

कप्तान कामी २९ र अर्जुनले ३३ रनको आक्रामक पारि खेले । यस्तै गुल्शन कुमार झाले सर्वाधिक ३६ रन बनाए ।

कर्णाली याक्सका ओपनर देव खनाल १ रनमा आउट भएका थिए भने अर्का ओपनर शिखर धवन १४ रनमा पेभिलियन फर्किए ।

चाडविक वाल्टनले ८ रन बनाउँदा बाबर हायतले १२ रनको योगदान दिए । जिशान मकसूद शून्य रनमा आउट भए ।

सोमपाल कामी २९ र नन्दन यादव शून्य रनमा नट आउट रहे ।

जनकपुर बोल्ट्सका मोहम्मद मोहसिनले सर्वाधिक दुई विकेट लिए । किशोर महतो, ललितनारायण राजवंशी, हर्ष थाकेर र जेम्स निशमले समान १–१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *