पोखरा आइटिएफ टेनिस प्रतियोगिता सुरु
कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आजदेखी आइटिएफ ‘वल्र्ड टेनिस टुर जे ३०’ प्रतियोगिता सुरू भएको छ ।
कास्की टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको प्रतियोगताको पोखरा महानगर प्रमुख धनराज आचार्यले प्रतियोगिता निर्देशक अजय विष्टलाई टेनिस बल हस्तान्तरण गरेर शुभारम्भ गरे ।
यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० देशका पुरुष ७० र महिला ३५ गरी एक सय पाँच जना खेलाडीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा नेपालसहित जापान, भारत, चीन, अमेरिका, न्युजील्याण्ड, ताइवान, मङ्गोलिया, बङ्गलादेश र कोरियाका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस सङ्घका सचिव भिष्मराज पौडेलले जानकारी दिए ।
प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका विजेताले समान ३० अङ्क, उपविजेताले १८ अङ्क, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनालिष्टले पाँच र आर–१६ले दुई अङ्क प्राप्त गर्नेछन् ।
त्यस्तै डबल्समा विजेताले २५ अङ्क, उपविजेताले १३ सेमि फाइनालिष्टले छ र क्वाटर फाइनालिष्टले तीन अङ्क प्राप्त गर्नेछन् । खेलाडीले प्राप्त गरेको अङ्कका आधारमा उनीहरुको वरियता निर्धाण हुनेछ ।
प्रतियोगितामा पुरुष एकल तथा डबल्स ̸ महिला एकल तथा डबल्स गरी चार ईभेन्टमा प्रतियोगिता सञ्चालन हुने बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।
कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले खेलकुदको माध्यमबाट पर्यटन विकासका साथै राष्ट्रिय सुदृढ बनाएर देशलाई अघि बढाउनुपर्ने बताए । उनले खेलकुद प्रतियोगिता र पूर्वाधार विकासका लागि महानगरले सँधै सहयोग गर्ने स्पष्ट पारे ।
कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष राजकुमार गुरुङले पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन प्रतियोगिताले मद्धत पुगेको बताए ।
प्रतियोगिता सम्पन्न गर्न करिव रु २१ लाख खर्च हुने गुरुङले बताए ।