लोकतन्त्रको बलियो पक्ष धार्मिक स्वतन्त्रता : मुख्यमन्त्री लामा
मनहरी । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले लोकतन्त्रको बलियो पक्ष धार्मिक स्वतन्त्रता रहेको बताएका छन् । उनले संविधान निर्माणपछि देशमा धार्मिक स्वतन्त्रता कायम भएको स्पष्ट पारे ।
राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपाल मकवानपुरद्वारा हेटौँडामा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री लामाले लोकतन्त्रपछि देशमा धार्मिक स्वतन्त्रता आएको बताए ।
पञ्चायतकालमा धर्म प्रचार गर्दा धार्मिक स्वतन्त्रतामा बन्देज लागेर धेरैले कारबाही भोग्नुपरेको भन्दै लोकतन्त्रको सबल पक्ष भनेकै सबैमा स्वतन्त्रता भएको बताए ।
लोकतन्त्रपछि मठ, मन्दिर, गुम्बा, चर्च निर्माणमा तीव्रता आएको बताउँदै उनले धार्मिक स्वतन्त्रतामा अरूलाई होच्याएर विभेद गर्न नहुने बताए ।
आ-आफ्ना फरक आस्था र विश्वास बोकेका भए पनि सबै नेपाली भएकाले फरक आस्थाको कारणबाट आफ्नो देशप्रतिको माया र नागरिक दायित्वबोधमा कुनै तलमाथि गर्न नहुने उनले बताए ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले धर्ममा सबैको स्वतन्त्रता रहेको बताए । धार्मिक स्वतन्त्रताको नाममा अराजक व्यक्तिले विभेदका घटना पैदा गरेको हुँदा त्यस्तालाई कानुनी दायरमा ल्याउनुपर्नेमा जोड दिए ।
विविधताबीचको एकता र सद्भावको यो गौरवपूर्ण परम्परा र इसाई धर्मावलम्बीको महान चाडको अवसरमा शुभकामना व्यक्त गरे । राष्ट्रिय खिष्टियन महासङ्घ मकवानपुरका अध्यक्ष नवराज घलानको अध्यक्षतामा भएको कार्यक्रममा घलानले फरक आस्था र विश्वास बोकेका आफ्ना नागरिकप्रति राज्यकातर्फबाट सम भाव र सम व्यवहार गरिदिन आग्रह गरे ।