विवाहपञ्चमी महोत्सवले नेपाल-भारतबीचको सम्बन्ध प्रगाढ : मुख्यमन्त्री सिंह

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विवाहपञ्चमी महामहोत्सवले नेपाल-भारतबीचको प्राचीन सम्बन्धलाई प्रगाढ बनाउने काम गरेको बताएका छन् ।

त्रेतायुगको झझल्को दिने गरी पाँच वर्षको अन्तरालमा भारतको अयोध्याबाट जन्ती आउने र जन्तीलाई मिथिलावासीले स्वागत गर्न पाउनु गर्वको विषय भएको मुख्यमन्त्री सिंहले बताए ।

उनले आजै भारतको अयोध्याबाट आएको जन्तीलाई मधेस भवनमा स्वागतसहित दिवा भोज गराएर सम्मान गरे । अयोध्याबाट रामजन्मभूमि ट्रष्टका महासचिव चम्पत रायको नेतृत्वमा झण्डै पाँच सयको सङ्ख्यामा आएको जन्तीलाई मिथिलाको परम्पराअनुसार दिवा भोजनका साथै सम्मान गरेका हुन् ।

मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालको अध्यक्षतामा स्वागत तथा सम्मान कार्यक्रम भएको हो । रामजन्मभूमि ट्रष्टका महासचिव रायले विवाहपञ्चमी महोत्सवले नेपाल–भारतबीचको प्राचीन सम्बन्धलाई नयाँस्तरमा अझ बढी प्रगाढ बनाउने काम गर्ने बताए ।

अयोध्याका नगरप्रमुख गिरिशपति त्रिपाठीले विवाहपञ्चमी महोत्सवले नेपाल भारतको सांस्कृतिक, धार्मिक तथा भावनात्मक एकतालाई प्रगाढ बनाएर जीवन्त बनाउने काम गरेको बताए । जन्तीलाई मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका तर्फबाट मन्त्री सकिलअलि मियाले कम्बल वितरण गरेका थिए ।

विवाह पञ्चमी महोत्सवअन्तर्गत मटकोर सम्पन्न

यसैबीच जनकपुरधामको रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत आज पाँचौँ दिन मटकोर कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ । जनकपुरधामको ऐतिहासिक गङ्गासागर पोखरीमा भएको सो कार्यक्रममा नेपाल र भारतका साधु सन्तहरुको सहभागिता रहेको थियो । रामजानकीको झाँकी प्रदर्शनसहित भएको सो कार्यक्रमका सहभागी मिथिलानीले रामजानकीसम्बन्धी गीतसमेत गाएका थिए ।

कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवको नेतृत्वमा मटकोरका लागि महिला तथा साधुसन्त गङ्गासागर पुगेका थिए । मटकोरमा रामजानकीको विवाहका लागि वेदी बनाउन माटो लगिने परम्परा छ । गङ्गासागरमा उत्तराधिकारी महन्तदासले माटो निकालेका थिए ।

मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, सङ्घीय सांसद जुली महतो, जिल्ला समन्वय समितिका अध्यक्ष राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहलगायतको सहभागिता रहेको थियो ।

अतिथि एवं साधुसन्तलाई प्रदेशसभा सदस्य रामआशिष यादव, सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष सुरेश शर्मा, सेभ हिस्टोरिकलका पदाधिकारीहरुले स्वागत गरेका थिए । महिलाहरुले माटो बोकेर नगर परिक्रमा गरेका थिए । मटकोरको क्रममा गङ्गासागरको डीलमा भजनकिर्तनको कार्यक्रम राखिएको छ ।

जानकीको प्रतीकको रुपमा रहेकी बालिकालाई लिएर बाँजागाजा मन्दिरको टोली गङ्गासागर पुग्ने गर्छ । वैदिक मन्त्र उच्चारण गरी विधिपूर्वक जानकी मन्दिरमा भित्र्याइएको माटोले रामजानकी विवाहका लागि वेदी तयार गर्ने चलन छ ।

जानकी जन्मोत्सवको सन्दर्भ पारेर विवाहको हरेक कार्यक्रम जनकपुरमा भइरहेको छ । शुक्रबार वैदिक परम्पराअनुसार रामजानकीको विवाह हुनेछ ।

जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र आज पाँचौँ दिन मटकोर कार्यक्रम भएको हो । शुक्रबार स्वयम्बर तथा विवाहोत्सव र शनिबार रामकलेवासँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *