सिरियामा संकट : राष्ट्रपति राजधानी छोड्न बाध्य, अब सिरिया स्वतन्त्र भएको विद्रोहीको दाबी

काठमाडौं । हाल सिरियाको राजधानी दमास्कसमा अन्योल र त्रासको वातावरण छ। विद्रोहीहरू दमास्कसको नजिक पुगिरहँदा मानिसहरू वास्तवमा के भइरहेको छ भनेर पत्ता लगाउन सकिरहेका छैनन् ।

राष्ट्रपति बशर अल-असद परिवारको शक्तिका प्रतीकका रूपमा रहेका दमास्कस वरपरका कैयौँ उपनगरहरूमा तोडफोड वा ध्वस्त भएका छन् । त्यहाँको आन्तरिक मामिला मन्त्रालयले राजधानी वरिपरि बलियो रक्षात्मक घेरा निर्माण गरिरहेको जनाएको छ । तर देशभरका विद्रोही समूहहरूले कब्जामा लिएका सहर, नगर र गाउँहरूमा सरकारी सेनाले त्यस्तो कुनै पनि सुरक्षा प्रदान गर्न असफल भएको प्रस्टसँग देखिन्छ ।

नयाँ चरणको सरकारविरोधी हमलाको नेतृत्व गरिरहेको इस्लामवादी विद्रोही समूह हायात तहरिर अल–शामका नेताले सिरियाको तेस्रो ठूलो सहर होम्सको केन्द्रभाग समेत कब्जा गरेको र राजधानी दमास्कसतर्फ अघि बढिरहेको बताएका छन् । उनीहरूले यसअघि नै दोस्रो ठूलो सहर अलेपो कब्जा गरेका थिए । यतिबेला राष्ट्रपति बशर अल-असद कहाँ छन् भन्ने हल्ला चासोपूर्वक चलिरहेको छ र त्यो थाहा पाउन मानिसहरूले दमास्कस आउजाउ गर्ने उडानहरूको निगरानी गरिरहेका छन् ।

सबैजना अशद देशमै छन्-छैनन् भन्ने जान्न खोजिरहेका छन् । सिरिया यतिखेर एक विभाजित देशका रूपमा छ जहाँ वर्षौँ लामो गृहयुद्धको गहिरो घाउ अझै निको हुन सकेको छैन । त्यहाँ करिब डेढ साता अघिसम्म झण्डै चार वर्षदेखि कायम गरिएको एकखाले गतिरोध र यथास्थिति थियो । देशमा चलिरहेको गृहयुद्धबीच राष्ट्रपति असदको आफ्ना अरब नेताहरूसँगको सम्बन्ध क्रमशः सुधार भए तापनि सिरियाभित्र युद्धपछिको अवस्थामा जनताको सुखद भविष्य निर्माण गर्ने दिशामा कुनै प्रगति भएको देखिएन ।

उहाँको स्थानमा सत्ता हात पार्ने प्रतिपक्ष एक ठाउँमा छैन र त्यहाँ कायम रहेका विद्रोही समूहहरूबिच विभाजन र झगडाको विगत छ । राष्ट्रपति असद विरुद्धको पछिल्लो विद्रोहको नेतृत्व गर्ने समूहको जग अल-कायदाको अतिवादमा आधारित छ । यसका नेताले सिरियाका समुदायहरूलाई आफ्नो विचारधारा उनीहरूमाथि नलाद्ने भन्दै आश्वस्त पार्ने प्रयास गरिरहे तापनि जनतामा अब के होला भन्ने चिन्ता छ ।

विद्रोहीको यस्तो दाबी
सिरियाको विद्रोही समूह हयात तहरिर अल-शाम (एचटीएएस) ले राजधानी दमास्कसमा आफ्नो नियन्त्रण स्थापित गरेको छ । समूहले राष्ट्रपति बसर अल-असदले देश छाडेर भागेको दाबी गरेको छ ।

एचटीएएसले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत यसलाई देशको इतिहासको एउटा कालो अध्यायको अन्त्य भन्दै नयाँ युगको सुरुवात को रूपमा चित्रित गरेको छ । यसअघि समाचार एजेन्सी रोयटर्सले दुई वरिष्ठ सिरियाली अधिकारीहरूको हवाला दिँदै राष्ट्रपति असदले दमास्कस छाडेको पुष्टि गरेको थियो। यद्यपि, उनी हाल कहाँ छन् भन्नेबारे कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन ।

यो घटनाले सिरियाली राजनीतिक अवस्थामा ठूलो परिवर्तनको संकेत गरेको छ, तर यो परिदृश्य कस्तो रूपमा अगाडि बढ्छ भन्ने अझै स्पष्ट छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *