अन्तरवार्ता

नाक, कान र घाँटीको समस्यामा नेपाली बढी लापरवाह छन्- डा. दिवित अधिकारी

काठमाडौँ । अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष धेरै चिसो हुने संकेत देखिन थालेको छ । जति चिसो बढ्दै जान्छ बिरामी पर्नेहरूको संख्या पनि बढ्ने गर्दछ । हाम्रो दैनिक बानी, व्यवहार, आहार विहारले चिसोमा हुने सङ्क्रमणको जोखिम निर्धारण गरिरहेको हुन्छ । हाम्रो सानो हेलचेक्राँई र लापरबाहीले ठूलो जोखिम र दुर्घटना निम्त्याइरहेका हुन्छन् । चिसोमा श्वासप्रश्वास सम्बन्धी समस्या र पेट सम्बन्धी समस्या बढी देखिन्छ । उमेरगत समस्या पनि उत्तिकै हुन्छ । गर्भवती, सुत्केरी, नवजात शिशु, साना बालबालिका, दीर्घरोगी र वृद्धवृद्धाहरुमा चिसोमा बढी जोखिम हुन्छ । यी सबै अवस्था र उमेरका व्यक्तिहरूको दैनिक हेरचाह र सावधानी अपनाउन सकियो भने चिसोमा हुने सङ्क्रमण र त्यसको जोखिमबाट बचाउन सकिन्छ ।

अल्का अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.दिवित अधिकारीले चिसोमा सावधानी अपनाउनुको सट्टा औषधि खाने चलनले व्यक्तिको स्वास्थ्य जोखिम बढिरहेको बताए । चिसोको बेलामा सबैभन्दा पहिला नाक, कान र घाँटीमा समस्या देखिने भएकाले चिकित्सकको सल्लाह लिएर मात्रै औषधिको प्रयोग गर्न आग्रह गरे । चिकित्सकको सल्लाह बिनै मेडिकलबाट औषधि ल्याएर खाने चलनले जोखिम बढिरहेको उनको भनाइ छ । नाक, कान र घाँटीको समस्यामा नेपालीहरू सबैभन्दा बढी लापरवाह देखिएको बताए । प्रस्तुत छः डा. दिवित अधिकारीसँग चिसो मौसम र स्वास्थ्य हेरचाहसम्बन्धी गरिएको कुराकानीको सम्पादित अंश ।

चिसो समय सुरु भएको छ, यसबेला नाक, कान र घाँटीका समस्या बढी देखिन्छन् नि किन ?

मैले विगत २२ वर्षदेखि नाक, कान र घाँटीसँग सम्बन्धित रोगहरूको उपचार गर्दै आइरहेको छु । नाकसम्बन्धी रोगहरूमा नाकबाट सिँगान धेरै बग्ने, हाच्छिउँ आउने, रुघा लाग्ने, श्वास फेर्न गाह्रो हुने, नाक बन्द हुने रोगहरू हुन्छन् । त्यस्तै, कानसम्बन्धी रोगहरूमा कान पाक्ने, कान नसुन्ने, कान चिलाउने र चक्कर लाग्ने जस्ता समस्याहरू हुन्छन् भने घाँटीसम्बन्धी समस्यामा घाँटी सुन्निने लगायतका समस्याहरू हुन्छन् । नाक, कान र घाटीहरू अन्तरसम्बन्धित छन् । जस्तै हाम्रो नाक कानसँग सिधै जोडिएको हुन्छ । यसलाई मस्क्युलर ट्युब भन्छ । त्यही ट्युबले नाकको भागलाई सिधै कानमा लगेर जोडिदिन्छ । अनि कानबाट त्यो कनेक्सन घाँटीमा पनि आउँछ । त्यसकारण नाकको घाँटीसँग सम्बन्ध हुन्छ । मुखको पनि पछि गएर घाँटीमै सम्बन्ध हुन्छ । कान पनि नाकको पछाडिको भागबाट ट्युबको माध्यमबाट घाँटीमा आउने भएको कारणले हामीले यो सबै कुराहरूलाई यसमै राखेर काम गर्छौं । यसलाई इएनटी पनि भन्ने गरिन्छ ।

नाक, कान र घाँटीका रोगहरू गर्मी याममा बढी देखिन्छन् की जाडो याममा ?

जलवायु परिवर्तनले पनि मान्छेमा लाग्ने रोगहरूमा असर गर्दछ । हाम्रोमा रोग भनेकै ब्याक्टेरियामा हुँदैन । जीवाणुको माध्यमबाट लाग्ने रोग मात्र हुँदैन । एलर्जी पनि एकदमै महत्वपूर्ण हुन्छ । एलर्जी भनेको चिसो धुवाँ र धुलोको माध्यमबाट हुने हो । त्यसैले जब जाडो याम तथा चिसो बढ्दै जान्छ तब नाकको समस्या, घाँटी दुख्ने समस्या र श्वास फेर्न गाह्रो हुने समस्या बढ्दै जान्छ । त्यसैगरी गर्मीयाम सुरु हुने बित्तिकै कान पाक्ने रोग फेरि बढ्दै जान्छ । गर्मीमा मान्छेहरूले धेरै नुहाउने गर्दछन् । त्यसरी नुहाउँदा कानभित्र पानी पर्ने भएका कारण कान पाक्ने रोग बढी मात्रामा देखिन्छ । घाँटी दुख्ने समस्या पनि चिसोभन्दा गर्मी महिनामा बढी देखिन्छ । चिसोको तुलनामा गर्मीमा चिसो खानेकुराहरू खाने भएकाले यस्तो समस्या आउने गर्दछ । जलवायु परिवर्तनले गर्दाखेरि मौसमका आधारमा रोग लाग्ने कुराहरू पनि सम्बन्धित भएका कारणले गर्दा यसले समस्या पारिरहेको छ ।

पछिल्लो समय सङ्क्रमण बढ्दै गएको हो ?

हो, समय मानव स्वास्थ्यमा सङ्क्रमण बढ्दो देखिन्छ । खासगरी कोरोना भाइरस सङ्क्रमणपछि अलि बढेर गएको छ । पहिले—पहिले भाइरल भाइरसहरू कम मात्रामा थिए । अहिले ती भाइरसहरू बढी भएका कारण सङ्क्रमणहरू अझ बढी भएको हामीले देखेका छौं ।

सङ्क्रमण बढ्दै गएको अनि घातक पनि बनेको देखिन्छ, सामान्य लाग्ने रुघाखोकीमा पनि मान्छे ओछ्यान परेको देखिएको छ ?

धेरैजसो सङ्क्रमणको लक्षणहरू कम मात्र देखिने गरेको छ । घातकभन्दा पनि नाक र घाँटीबाट सङ्क्रमण छातीमा गएर श्वासप्रश्वासमा समस्या हुनेकुरा पहिले भन्दा अहिले अलि बढी देखिएको छ । यो के करणले भइरहेको छ । त्यो त अहिलेसम्म हामीले पत्ता लगाउन सकेका छैनौँ । कोरोना सङ्क्रमणपछि र पछिल्लो समय बढेको वायु प्रदूषणका कारण श्वासप्रश्वासका रोगीहरू बढेको हामीले देखेका छौं ।

अहिले रुघाखोकी निको हुन छोड्यो, एन्टीबायोटिक नै खानुपर्छ भन्छन् ?

सामान्य रुघाखोकीहरू सामान्य घरेलु उपचारले निको हुन छोडेको छैन । तर पहिलेभन्दा अहिलेका जीवाणुहरू झन् सशक्त भएर आएको जस्तो देखिन्छ । केही बिरामीहरूले यत्रो वर्षसम्म केही भएन एक,दुई वर्षदेखि घाँटी खसखस हुने, रुघा लाग्ने गरेको भनेर अनुभवहरू सुनाउनु हुन्छ । पहिले—पहिले दुई दिनमा रुघाखोकी ठिक हुनेमा अहिले १४ दिनसम्म पनि ठिक भइरहेको छैन भन्नुहुन्छ । त्यसमा इन्फेक्सनको जुन प्याथोजेम भन्छौं हामीले त्यसले भाइरसको भिरोलेन्स अर्थात् त्यसको रोगको सङ्क्रमण गराउने क्षमता बढेको हो कि । त्योबारे हामीले रिसर्च त गरेका छैनौँ । पहिले—पहिले राइनो अर्थात् रुघाखोकी लाग्ने भाइरसले आक्रमण गर्थ्यो । अहिले इन्फ्लुएन्जा भनेर आएको छ । त्यसको सङ्क्रमण अझै व्यापक देखिएको छ अहिले ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा हुने सङ्क्रमण तीव्र छ, एकै दिनमा धेरै व्यक्तिमा एक व्यक्तिले सङ्क्रमण गराइरहेको देखिन्छ ?

अहिले सङ्क्रमण बढ्दो गतिमा छ । पछिल्लो समय जलवायु परिवर्तनको असर पनि बढेर आएको छ । त्यसको कारण एक्सपोजर सबैलाई एउटै हो । तर रोगसँग लड्ने क्षमता एउटा वयस्क पुरुषमा जति छ त्यति महिला, बालबालिका र वृद्धा अवस्थाका मानिसहरूमा कम भएर जान्छ । त्यो क्षमता कम हुने बित्तिकै कीटाणु तथा जीवाणुहरूले झन् छिटो आक्रमण गर्छ । अर्को इम्युनिटी कम हुने बित्तिकै हाम्रो रोगसँग लड्ने क्षमता पनि हाम्रो घट्यो । त्यसो हुँदा जति समयमा रोग निको हुनुपर्ने हो त्यति समयमा रोग निको हुन पनि पाउँदैन । त्यस कारण वृद्धवद्धा, बालबालिका र गर्भवती महिलाहरूमा अझ तीव्र गतिले बढेको देखिन्छ । यसको रोकथामको लागि हामीले वातावरणीय कुरामा मुख्य ध्यान दिनुप¥यो । पछिल्लो समय काठमाडौंमा तुवाँलो जुन देखिएको छ । धुलो धुवाँबाट बच्नको लागि हामीले मास्कको प्रयोगहरू गर्ने, अनि वायु प्रदूषण कम गर्ने क्रियाकलापहरू गर्ने, चिसोबाट बच्नको लागि न्यानो लुगाहरू लगाउने, मनतातो पानी पिउने गर्नुपर्छ । घरायसी उपचारमा हाम्रो पहिलेदेखिको परम्परा बेसार पानीहरू पिउने लगायत कामहरु गर्न मिल्छ । म के भन्न चाहन्छु भने तपाईँको बालबालिकाप्रति, वृद्धवृद्धा वा जो कसैलाई पनि रुघाखोकी लागेको छ भने एकपटक चिकित्सक कहाँ गएर जँचाउनु चाहिँ राम्रो हो । किनभने हरेक पटक सामान्य रुघाखोकी नहुन पनि सक्छ । अहिलेको समयमा सामान्यभन्दा असामान्य रुघाखोकी बढी देखिएको छ ।

हामी कस्तो अवस्थामा घरमा बसेर उपचार हेरचाह गर्ने वा कस्तो अवस्थामा अस्पताल आउने ?

नेपालको सन्दर्भमा मानिसमा केही हदसम्म चेतनाको कमी पनि छ । कान सुन्न छोडेको २४ घण्टाभित्रमा अस्पताल आयोभने त्यो कानलाई उपचार गर्न सकिन्छ । ७२ घण्टासम्म पनि त्यो निको पार्ने प्रयास गर्न सकिन्छ । तर ७२ घण्टा भन्दा पनि उता गएको अवस्थामा हाम्रो श्रवण शक्ति नआउन पनि सक्छ । त्यसकारण कान सुन्न छोडेको २४ घण्टामा जे कारण भएपनि अस्पताल आउन जरुरी छ । कान पाकेको जस्तो भएको छ भने एक,दुई दिन मिल्छ । तर रगत मिसिएको पिप आयो भने चिकित्सक कहाँ आउनुप¥यो । त्यस्तै सामान्य रुघाखोकी दुई दिनसम्म हेर्ने हो । घरेलु उपचार गर्दागर्दै दुई दिनपछि पनि ठिक भएन भने तुरुन्तै आउने । त्यस्तै रुघासँगै टाउको दुख्ने अथवा अनुहारको कुनैपनि भाग दुखेको अवस्थामा पनि हामीलाई भेट्न आउने हो । एक,दुई दिनको बिरामीले समस्या भएन । यदि दुखाई बढ्दै गयो भने चिकित्सकको सल्लाह लिन आवश्यक छ ।

कुनैपनि रोगका लागि एक,दुई दिन कुर्न खासै समस्या होइन । तर चिकित्सकको परामर्श बिना कुनैपनि मेडिकलमा गएर दिएको औषधि कहिले पनि नखानुहोला । किनभने विदेशमा धेरै अध्ययन तथा अनुसन्धान गरेर यो कुरा पत्ता लगाइएको छ । धेरै ठाउँमा अहिले पनि डाक्टरको पुर्जाबिना त्यत्तिकै औषधि कसैले पनि दिँदैन । तर नेपालको सन्दर्भमा हामीले मेडिकलमा पुर्जा देखाउँदा पनि त्यहाँ पढेको मान्छे नभएको कारण सामान्य रोगलाई पनि ठूलोठूलो औषधि दिने गरेको छ । त्यसपछि बिरामी ठिक नभएर चिकित्सक कहाँ आइपुग्दा चिकित्सकले कुन औषधि चलाउने भन्ने समस्या हुन्छ । उसले पहिले नै खाएर आइसकेको हुन्छ । त्यस्तो नगर्न आग्रह गर्न चाहन्छु । समय र पैसा खर्च भएपनि चिकित्सकलाई देखाएर खाएको औषधि रामो हुन्छ । घरेलु उपचार सामान्य कुरालाई एकदुई दिन गर्न मिल्छ । तर कसैको एकदमै छाती दुखेर आयो भने त्यसमा हामी कुर्न मिल्दैन । किनभने त्यस अवस्थामा मुटुको समस्या हुनसक्छ । लगातार वान्ता भइरहेको छ भने त्यो राम्रो संकेत होइन । एक दुई दिन घाँटी दुख्नु पनि सामान्य हो तर थुक नै निल्न नसकेको अवस्थामा तुरुन्त चिकित्सक कहाँ आएको राम्रो भन्छु ।

रुघाखोकी र अन्य रोगको सङ्क्रमण कसरी छुट्याउने, लक्षण कसरी छुट्याउने ?

म जहिले पनि फ्लुलाई तीन दिन हेर्नुपर्ने भन्छु । त्यो तीन दिनमा हाम्रो रोगसँग लड्ने क्षमता ठिक छ भने रुघा लाग्ने, हाच्छिउँ आउने, सिँगान आउने, टाउको दुख्ने, घाँटी दुख्ने, ज्वरो आउने यो सबै घट्ने क्रममा जान्छ । कुनैपनि यी लक्षणहरू २४ देखि ४८ घण्टासम्म नघटेको अवस्थामा त्यो जटिल हुँदै गएको अवस्थाको रुपमा हामीले सोच्नुपर्छ । अनि सम्बन्धित चिकित्सकलाई देखाएको राम्रो हुन्छ । शरीरमा जे कुरा पनि छिर्ने भनेको नाक र मुखबाट नै हो । त्यसका लागि हामीलाई लड्ने क्षमता दिएको छ । त्यसमा हामी माथिबाटै काउन्टर अट्याक गर्छौं । हामीले त्यस आक्रमणको प्रतिरोध गर्न सकेनौँ, हाम्रो रोगसँग लड्ने क्षमता ठिक छैन भने त्यसले तल छातीमा गएर असर गर्न सक्छ । बिस्तारै मुटु र पेटमा गएर असर गर्नसक्छ । यी त संवेदनशील अङ्गहरू भएको कारणले यी अङ्गहरूमा पुग्नुभन्दा पहिले नै हामी सचेत हुनु राम्रो हो जस्तो लाग्छ ।

खोकी भनेको छातीको खोकी पनि हुन्छ । घाँटीको खोकी पनि हुन्छ । रुघापन नाकको पनि हुन्छ र मुखतिरको पनि हुन्छ । नाक, मुख र घाँटीमा आउने खोकी जहिले पनि खसखसे खोकी हुन्छ । त्यसमा स्वाँस्वाँ हुँदैन । तर कोही मान्छेलाई खोकी पनि लाग्यो । ज्वरो पनि आयो १०२ देखि १०३ डिग्रीको भने त्यसले छातीमा सङ्क्रमण भयो है भनेर जनाउँछ । सामान्य खोकिमा खसखसे खोकी मात्र हुन्छ । तर ज्वरो धेरै आउने र श्वासप्रश्वासमा समस्या आयो भने त्यो चाहिँ छातीमा सङ्क्रमण भएर आएको खोकीको रुपमा बुझ्नुपर्छ । यो अति जटिल समस्या हो भनेर पनि जनाउँछ । त्यही भएर यस्तो अवस्थामा हामी सचेत हुनुपर्दछ । यस कुरामा सहरमा त हामी केही हदसम्म सचेत भएका छौं । ग्रामीण भेगमा त अहिले पनि छैनौँ जस्तो लाग्छ । गाउँबाट आउने बिरामीहरू अलिकति सिरियस नै भएपछि मात्र आउनुहुन्छ । सहरमा शिक्षित भएको हुनाले सबैलाई थाहा हुन्छ । अलिकति समस्या हुनासाथ उहाँहरू आउनुहुन्छ । गाउँमा जबसम्म गाह्रो हुँदैन तबसम्म आउँदैनन् । त्यसमा जनचेतनाको अभाव हुनु पनि मुख्य कारण होला । अर्को कुरा, वृद्धवृद्धा र बालबालिकाहरूमा केयरिङको समस्या छ । काम गर्ने मान्छेहरू सहरमा रहेका कारणले वृद्धवृद्धा तथा बालबालिकाहरूले आवश्यक स्याहार नपाएको देखिन्छ । वर्किङ क्लास परिवारका बच्चाहरू अति सिरियस कन्डिसनमा देखिरहेको हुन्छु ।

उमेरगत र अवस्था अनुसार कसरी उपचार हेरचाह गर्ने ?

रुघाखोकी त सबैभन्दा बढी सङ्क्रमण भएको बच्चा उमेरका मानिसहरूमा देखिएको छ । वयस्क मानीहरूमा यसको सङ्क्रमण अलिकति कम भएको पाइन्छ । तर कानको समस्या बच्चामा अलिकति कम देखिएको छ । कान पाक्ने समस्याहरू बच्चाभन्दापनि वयस्क मानिसमा मैले देखेको छु । र घाँटी दुख्ने, टन्सिल हुने समस्याहरू यस्ता समस्याहरू भने बच्चा उमेरको भन्दा वयस्कमा अलि बढी देखेको छु । घाँटी दुख्यो कि उनीहरूले टन्सिल भनेर औषधि दिन्छन् । प्रत्येक घाँटी दुखाई टन्सिल होइन । फ्यारेनजाइटिक्स पनि हुन्छ । यो तीन, चार प्रकारको हुन्छ । यो ब्याक्टेरिया हुन्छ, भाइरल हुन्छ । टन्सिल भनेको जहिले पनि ब्याक्टेरियल नै हुन्छ । त्यसमा कीटाणुको सङ्क्रमण हुन्छ नै । त्यसमा हामीले एन्टिबायोटिक दिनैपर्छ । तर फ्यारेनजाइटिक्समा हामीले मनतातो पिउने र धुवाँ धुलोबाट एकदुई दिन बचेर बस्यो भनेपनि निको हुन्छ । टन्सिल भएको थाहा पाउने कारण के हो भने थुक निल्ने बेला पनि दुख्छ । अनि त्यसमा ज्वरो हुन्छ । अनि जिब्रो भित्रपट्टिको डल्लाहरू सुन्निएर रातो भएको देखिन्छ । तर यहाँ त घाँटी दुखेर मेडिकल गयो कि औषधि चलाईदिहाल्छ । त्यो औषधिले रोग त निम्त्याउँदैन । तर सामान्य रोगको लागि कडा एन्टीबायोटिक दियो भने भोलि त्यो मान्छेलाई निमोनिया होला । किड्नीको इन्फेक्सन होला । यस्तो बेला समस्या आउन सक्छ । पछि सामान्य बिराममा दिएको एन्टिबायोटिकले काम नगर्ने अवस्था आउँछ । यसको रोकथामको लागि सरकार पनि मिले जथाभाबी रुपमा एन्टीबायोटिक चलाउने प्रवृत्ति रोक्न पाए रामो हुन्थ्यो जस्तो लाग्छ ।

यसको लागि सरकारले ऐन र कानुन नै बनाएको छ । त्यो कानुन कार्यान्वयन भएको अवस्थामा एकदमै सहज हुन्थ्यो । त्यसमा हामी एकदम खुसी हुन्थ्यौँ । किनभने हामीकहाँ यसका वास्तविक बिरामीहरू आउँछन् । अहिले बिरामीहरू मेडिकल गएर एक चरणको औषधि खाएर हाम्रो मा आउने समस्या देखिएको छ । यो एउटा ठूलो समस्या हो । यसलाई सरकारले रोक्न सक्यो भने त फस्र्ट स्टेजमै हामीले बिरामीलाई भेट्न पाउँछौँ । अहिले त दुई चोटि औषधि खाएर तेस्रो पटक औषधि खाने बेला बिरामी हाम्रोमा आउने गर्नुभएको छ । त्यसमा दिने औषधि हामी कहाँ हुँदैन । उनीहरुले पहिले नै खाइसकेको हुन्छ । यसका लागि सरकारले नियम त ल्याएको छ तर लागू गर्न सकेको छैन । बिरामीले पनि रोगअनुसारको औषधि पाउने भयो । उसको खर्च पनि कम हुने भयो । सबैभन्दा महत्वपूर्ण उसले खोजेको उपचार पाउने भयो । व्यापारको लागि भनेर औषधि बेचबिखन हुँदैन ।

विशेषज्ञ चिकित्सकको नाताले के सन्देश दिन चाहनुहुन्छ ?

अन्तिममा सबै नागरिकलाई मेरो सन्देश के छ भने तपाईँहरू नाक, कान, घाँटीलाई हेलचेक्र्याइँ नगर्नुहोला । यी अङ्गमा हुने सङ्क्रमणलाई सामान्य रुपमा नलिनुहोला । यसमा हुने सङ्क्रमणले कहिले कहीँ जटिल समस्याहरू पनि सिर्जना हुन सक्छन् । नाक, कान घाँटीलाई मान्छेले कहिले पनि ठूलो रोगको रुपमा लिँदैन । तर यदि यही नाक, कान घाँटीको इन्फेक्सन फैलियो भने टाउको मा जानसक्छ । यसले ठूलो समस्या निम्त्याउन सक्छ । कानमा पाकेको पिप टाउकोमा गएर त्यसमा इन्फेक्सन गर्नसक्छ । अनि टन्सिल भएर छाती र मुटुमा असर गर्नसक्छ । त्यसैले नाक, कान घाँटीलाई सामान्य रुपमा नलिन म सबैलाई आग्रह गर्न चाहन्छु । समस्या भएको खण्डमा चिकित्सकको सल्लाह लिनुहोला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *