अर्पण बचतको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । अर्पण बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष मोहदत्त पौडेल (सुरज) ले वार्षिक कार्ययोजना, नीति तथा कार्यक्रम, सचिव महेश पाण्डेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष टुकानाथ आचार्यले आर्थिक प्रतिवेदन तथा लेखा समिति सदस्य कृष्णप्रसाद आचार्यले आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता सोमबहादुर गुरूङ, तुलसीराम चपाईं, लक्ष्मी आचार्य सुवेदी, उत्कृष्ट कर्जातर्फ ओमप्रसाद चालिसे र दीपाकुमारी दराई, प्लस २ मा उत्कृष्ट अङ्क ल्याउने सुभम लामिछाने र निश्चल आचार्य, ज्येष्ठ सेयर सदस्य गुनाकुमारी पाण्डे तथा उकृष्ट कर्मचारीको रुपमा कर्जा सहायक मिलन पौडेललाई सम्मान गरिएको संस्थाका सञ्चालक समिति सदस्य ध्रुवराज लामिछानेले जानकारी दिए ।

२०६७ सालमा स्थापना भएको सो सहकारीमा ४ हजार ६२ जना सेयर सदस्य रहेका छन् । ४ करोड ६२ लाख सेयर पुँजी रहेको सो सहकारीले १२ करोड ३१ लाख ऋण लगानी गरेको छ भने १२ करोड ७२ लाख बचत सङ्कलन गरेको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए ।

कार्यक्रममा वडा नं–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष प्रेमनाथ दुवाडी, जिल्ला बचत तथा ऋण सहकारी संघकी सहसचिव ऋतु गिरी, संस्थाका निवर्तमान अध्यक्ष मेघनाथ पौडेल, पूर्वअध्यक्ष यमन भुसाललगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामकुमार बजगाईँले स्वागत मन्तव्य राखेका थिए ।

सोही कार्यक्रमका बीच प्रमुखअतिथि मेयर सापकोटालाई प्रदान गरिने मायाको चिनोबापतको रकमबाट पाँच विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने सो सहकारीले जनाएको छ । कार्यक्रम सचिव पाण्डेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *