संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लेखकले यस्तो बताएका हुन् । उनले संविधानलाई असफल बनाउने छुट कसैलाई नभएको बताए । उनले नेपालमा ६८ वर्षको अवधिमा सात वटा संविधान बनेको स्मरण गराउँदै संविधान धेरै बन्नु राजनीतिक अस्थिरताको उदाहरण भएको बताए ।

उनले संविधानलाई असफल बनाउन संविधान विरोधी गतिविधिहरू गर्ने र वर्तमान व्यवस्थालाई असफल साबित गर्ने प्रयत्न हुने गरेको उल्लेख गर्दै त्यसका विरुद्ध कडा रूपले उभिन जरुरी रहेको बताए । उनले भौतिक विकास निर्माण र आर्थिक वृद्धि गर्न नसक्दा जनतामा केही असन्तुष्टि रहेपनि संविधानकै कारण मुलुकमा समृद्ध बन्न नसकेको भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेको बताए । संविधान विरोधी गतिविधिहरू कुनैपनि हिसाबले क्षम्य नहुने लेखकको भनाइ छ ।

उनले भने ‘हामीले संविधान बनाएका छौं । तुलनात्मक रुपमा हेर्दा यो संविधान अन्य देशका संविधानको तुलनामा असल छ । संसारभरका संविधानहरूलाई अध्ययन गरेर बनाएको हुनाले हाम्रो संविधान कान्छो र सफल हो । संविधानमा हामीले गणतन्त्र र सङ्घीयताको विषयमा महत्वपूर्ण निर्णय गरेका छौं । हाम्रा नयाँ अभ्यासहरू प्रयोग भएका छन् । त्यसरी नै हाम्रा लोकतान्त्रिक मूल्य मान्यताहरूलाई यो संविधानमा समावेश गरेका छौं । यो संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको मुख्य कार्यभार हो । मैले एउटा कुरा निरन्तर भन्ने गरेको छु, यो संविधानलाई असफल बनाउने छुट हामी कसैलाई छैन । किनभने नेपाल ६८ वर्षमा ७ वटा संविधान बनेको देश हो । हामीले ७ वटा संविधान बनाएका छौं । धेरै, सडक, पुल र विश्वविद्यालय बनाउने कुरा राम्रो हो । धेरै संविधान बनाउने कुरा बेठिक हो । धेरै संविधान बन्नु भनेको मुलुकको राजनीतिक अस्थिरताको उदाहरण हो । ६८ वर्षसम्म हामी राजनीतिक अस्थिरतामा हामी गुज्रियौँ । त्यसो भएका कारणले अब यो संविधानलाई असफल हुन दिनुहुन्न । संविधानलाई असफल बनाउन संविधानविरोधी गतिविधिहरू गर्ने र वर्तमान व्यवस्थालाई असफल साबित गर्न प्रयत्न गर्ने कोसिसहरू हुने गरेका छन् । त्यसका विरुद्ध हामी कडा रूपले उभिन जरुरी छ । केही कुराहरूमा समाधान गर्न नसक्दा नागरिकमा असन्तुष्टि भए पनि संविधानको कमजोरीका कारण मुलुकको विकास हुन नसकेको भन्ने भाष्य र गतिविधि भइरहेका छन् यस्ता गतिविधिहरू कुनैपनि हिसाबले क्षम्य हुँदैनन् ।’

उनले मुलुकमा साइबर अपराधका घटनाहरू बढिरहेको बताए । उनले व्यक्तिगत चरित्रहत्या र समाजको शान्ति व्यवस्था खलबल्याउने आपराधिक क्रियाकलापहरू बढेको उल्लेख गर्दै यसका विरुद्ध सरकार निर्मम ढंगले प्रस्तुत हुने बताए ।

उनले भने ‘पछिल्लो समय साइबर क्राइम बढिरहेको स्थिति छ । साइबर क्राइममा पनि खासगरि घृणात्मक अभिव्यक्तिहरू बढिरहेको पाइएको छ । कसैको व्यक्तिको चरित्र हत्या गरिदिने अथवा समाज समाजका बिचमा द्वन्द्व बढाउने, विशेष, भूगोल, धर्म र भाषाका बिचमा पनि विद्वेष फैलाउनले र समाजलाई गलत ढंगले प्रभावित पार्ने तरिकाले यो अपराध बढीरेहेको छ । यो अपराध नियन्त्रणका लागि पनि हामीले कुनै पनि खालको सम्झौता नगरेर निर्मम ढंगले प्रस्तुत हुन जरुरी छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *