प्लेअफमा पुग्ने पहिलो टोली बन्यो अनिलको जनकपुर

काठमाडौं । जनकपुर बोल्ट्सले बिहीवार काठमाडौं गुर्खाजलाई हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल) मा एक खेलअगावै प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

त्रिवि क्रिकेट मैदानमा जनकपुरले काठमाडौंलाई पाँच विकेटले हराउँदै प्लेअफमा स्थान बनाएको हो । काठमाडौंले १०२ रनको सामान्य लक्ष्य दिएको थियो । तर जनकपुरले १५.३ ओभरमा पाँच विकेट गुमाउँदै त्यो लक्ष्य भेट्टायो । यससँगै जनकपुरले ६ खेलबाट पाँच जित निकाल्दैै १० अंक जोडेको छ ।

जितसँगै जनकपुर शीर्ष स्थानमा उक्लिएको छ । जनकपुरले लिगको आफ्नो अन्तिम खेलमा चितवन राइनोजसँग खेल्नेछ । यो खेलमा जित निकाले जनकपुरले पहिलो क्वालिफायरमा स्थान बनाउनेछ ।

काठमाडौंले अब दुई खेल खेल्न बाँकी छ । प्लेअफ पुग्न यी दुई खेलमा जितले मात्र पर्याप्त हुने छैन । पोखरा, चितवन र कर्णालीको नतिजामा पनि भर गर्नुपर्नेछ । लक्ष्य पछ्याएको जनकपुरको जितमा मध्य क्रमका ब्याटर जिमी निसमले १७ बलमा एक सर्वाधिक २७ रन बनाए । उनले चौका र तीन छक्का हिर्काए ।

ओपनरद्वय आसिफ शेख र लाहिरु मिलन्थाले १६ रन जोड्दा अनिल साहले ११ रन बनाए । सातौं नम्बरका ब्याटर मोहम्मद मोहसिन १३ रन र हर्ष ठाकर २५ रनमा अविजित रहँदै जित दिलाए ।

जनकपुरले पावरप्लेमा दुई विकेट गुमाएर ५२ रन जोड्दै राम्रो सुरुआत गरेको थियो । यससँगै जनकपुरका लागि लक्ष्य पछ्याउन सहज बन्यो ।

काठमाडौंको बलिङमा कप्तान करण केसीले तीन ओभरमा दुई विकेट लिँदा १० रन मात्र खर्चिए । साहब आलम, जेरार्ड इरासमस र दीपेश कँडेलले नाममा समान एक विकेट लिए पनि जित रोक्न सकेनन् ।

त्यसअघि टस जितेर ब्याटिङ गर्ने काठमाडौंको निर्णय सहज भएन । काठमाडौं १९.३ ओभरमा १०३ रनमा नै अलआउट भयो । पावरप्लेमा काठमाडौंले दुई विकेट गुमाउँदै ३५ रन जोडेको थियो ।

काठमाडौंले बाँकी आठ विकेट गुमाउँदा ६६ रन मात्र जोड्न सक्यो । जेरार्डको २० रन नै काठमाडौंका लागि ठूलो व्यक्तिगत स्कोर रह्यो ।

उनले २२ बलमा दुई चौका प्रहार गरे । ओपनर स्टेफन इस्किनाजीले १७ र कप्तान करणले १९ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जनकपुरका ललित राजवंशी र शेर मल्लले समान तीन विकेट लिए ।

ललितले चार ओभरमा दुई मेडनसहित आठ रन खर्चिए । शेरले ३.३ ओभरमा ११ रन खर्चिए । मोहसिनले चार ओभरमा २० रन खर्चिँदै दुई विकेट लिँदा किशोर महतो र अरनिको यादव नाममा एक विकेट रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *