कलेज पढ्दै थिइन् पशुपतिमा मृत भेटिएकी युवती, सुसाइट नोटमा के छ ?
काठमाडौं । काठमाडौँको पशुपतिनाथ मन्दिर नजिकै मृत भेटिएकी युवतीको सुसाइट नोट फेला परेको छ ।
तिलगंगाबाट पशुपतिनाथ जाने बाटो नजिकै रहेको जङ्गलको झाडीमा मृत भेटिएकी युवतीको सुसाइट नोट फेला परेको प्रहरीले जनाएको छ ।
शंखरापुर नगरपालिका–५ घर भई शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजारले सुसाइट नोटमा निराशा व्यक्त गरेकी छन् ।
उनले सुसाइट नोटमा जति प्रयास गर्दा पनि कुनै कार्यमा सफल नभएको, आफूमा बाँच्ने चाहना नै नभएको र अब कसैले बचाउने प्रयास पनि नगर्न आग्रह गरेकी छन् ।
उनी काठमाडौँको एक कलेजमा अध्ययनरत थिइन् । उनले पढाई, घरपरिवार र कतैबाट पनि साथ र सहयोग नमिलेको सुसाइट नोटमा उल्लेख गरेको एक प्रहरी अधिकृतले मकालुखबरलाई जानकारी दिए ।
‘बिहीबार नै ती युवतीको शव भेटिएको हो । उनको सुसाइट नोट पनि फेला परेको छ । उक्त नोटमा आफू बाँच्न नचाहेको र बचाउने प्रयास पनि गर्न उल्लेख गरेकी छन्,’ ती प्रहरी अधिकृतले भने, ‘सुसाइट नोटमा कसैलाई केही आरोप भने लगाइएको छैन ।’
मृत भेटिएकी युवतीको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको छ । अस्पतालको रिपोर्ट आएपछि थप कुरा थाहा पाइने उनले बताए ।
यो पनि पढ्नुहोस्–पशुपतिको झाडीमा मृत भेटिइन् २० वर्षीया युवती