रवि लामिछानेलाई रातारात सारिनु मानव अधिकारको उल्लंघन : पूर्वप्रधानन्यायाधीश कार्की
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने समय नभएको बताएकी छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले संविधान संशोधन गर्नै नहुने भन्ने नभएको तर ९ वर्षमै संविधान संशोधन गर्ने बेला नभएको बताइन् । उनले संविधान संशोधनको बेला नभइ उपयोगको बेला भएको बताइन् । अहिलेको संविधानले देश विकास नभएको भए अन्य कुनैपनि संविधानले देश विकास गर्न नसक्ने बताइन् ।
उनले वर्तमान संविधानमा भाषा नमिलेको देखिएपनि शुरुदेखि अन्त्यसम्म सबै कुराले छोएको बताइन् । शासक वर्गको नियति ठिक भए अहिलेकै संविधान राम्रो भएको बताइन् ।
उनले भने ‘संविधानको संशोधन नहुने भन्ने होइन, संविधानको संशोधन हुनुपर्छ । तर मेरो विचारमा भर्खर ९ वर्ष भएको छ । जब अरु मुलुकमा सयौँ वर्षसम्म संशोधन हुँदैन भने यसको राम्रो प्रयोग नभइकन, उपयोग नभइकन संशोधन हुनुपर्ने आवाज आइरहेको छ । त्यो हुनु हुँदैन । यो संविधानलाई खराब भन्न मिल्दैन, यो नराम्रो भन्नु जनतालाई गाली गर्नु हो । नेपालको सम्पूर्ण जनताको ६ सय प्रतिनिधिहरुले बसेर छलफल गरेर सबै तप्काका मानिस, राजनीतिज्ञ, अन्य प्रतिनिधित्व गर्ने वर्गका सबै भेला भएर बनाएको हो । हालाकी हामी कानून पढेका मान्छेहरुले हेर्दा यो संविधानमा भाषा मिलेको देखिँदैन । क्रमवद्धमा फरक छ । शुरुदेखि अन्त्यसम्म कुरा पुगेको छ ।’
पूर्वन्यायाधीश कार्कीले संविधान आफैँमा पूरा कहिले पनि नहुने बताइन् । उनले शासकलाई राम्रो काम गर्न संविधान बाधक नभएको बताइन् । उनले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानव अधिकारको उल्लंघन भएको बताइन् ।