एनपिएल

लिग चरणको अन्तिम खेल : सुदूरपश्चिमविरुद्ध ब्याटिङमा कर्णाली, कसले जिते के हुन्छ ?

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच भइरहेको छ । टियु क्रिकेट मैदानमा जारी खेलमाटस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङ रोजेका हुन् ।

यो खेलपछि एनपीएलको पहिलो संस्करणका शीर्ष चार टोलीको छनोट पूरा हुनेछ । यसअघि सुदूरपश्चिम र जनकपुरले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन् । तर आजको खेलको नतिजाले अन्य तीन टोलीको स्थान र प्लेअफको समीकरणलाई थप रोचक बनाउनेछ ।

कर्णाली याक्सका लागि आजको खेल जित्नैपर्ने अवस्था छ । खेल जित्न सकेमा उनीहरूको क्वालिफायर पुग्ने सम्भावना बलियो हुनेछ, तर पराजयको अवस्थामा उनीहरूलाई नेटरनरेटको भर पर्नुपर्नेछ । फराकिलो अन्तरले हार भए कर्णाली लिगबाटै बाहिरिनेछ, जसले काठमाडौं गुर्खाजलाई प्लेअफको ढोका खोलिदिनेछ ।

सुदूरपश्चिम रोयल्सले भने कर्णालीलाई पराजित गर्दै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गर्न चाहन्छ । पराजय भए पनि उनीहरूको क्वालिफायर खेल्ने सम्भावना बलियो छ ।

आजको खेलले कर्णाली, जनकपुर, र काठमाडौंका लागि महत्वपूर्ण असर पुर्‍याउनेछ । कर्णालीले जितेमा जनकपुरको सिधै क्वालिफायर खेल्ने सम्भावना कमजोर हुनेछ भने काठमाडौं लिग चरणबाटै बाहिरिने छ । चितवन टाइगर्स भने अहिले समान अंक भए पनि नेटरनरेटका कारण सुरक्षित छ ।

एनपीएल प्लेअफमा शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन्, जसको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ । हार्ने टोलीले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । तेस्रो र चौथो स्थानका टोलीबीचको एलिमिनेटर खेलको विजेताले दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

लिग चरण सकिनुअघि नै लुम्बिनी लायन्स, विराटनगर किंग्स, र पोखरा एभेन्जर्सले प्रतियोगिताबाट बाहिरिने यात्रा तय गरिसकेका छन् । आजको खेलसँगै एनपीएलको प्लेअफ समीकरणलाई पूर्णता मिल्नेछ ।

सुदूरपश्चिम रोयल्सको प्लेइङ-११
दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह, विनोद भन्डारी(विकेटकिपर), ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, नरेन साउद, अभिनाष बोहोरा र नरेश बुढाऐर।

कर्णाली याक्सको प्लेइङ-११
सोमपाल कामी, बाबर हायात, चाडविक वाल्टन(विकेटकिपर), विलियम बासिस्टो, जिशान मक्सुद, अर्जुन घर्ती, देव खनाल, विपिन शर्मा, गुलशन झा, रित गौतम, नन्दन यादव

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *