प्लेअफमा पुग्ने चार टोलीको टुंगो, अब कसको प्रतिस्पर्धा को सँग ?

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुग्ने चार वटै टोलीको टुंगो लागेको छ ।

सोमबार सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेसँगै प्लेअफमा पुग्ने चार वटै टोलीको टुंगो लागेको हो ।

सुदूरपश्चिम रोयल्ससँग हारेर पनि कर्णाली याक्स प्लेअफमा पुग्न सफल भयो ।

सुदूरपश्चिमले १२.२ ओभरमा कर्णालीमाथि जित हासिल गरेको भए काठमाडौं गुर्खाज शीर्ष चारमा रहेर प्लेअफ पुग्ने समीकरण थियो ।

तर, सुदूरपश्चिमले १२.२ ओभरमा तीन विकेट गुमाएर ७२ रन मात्रै बनाएपछि कर्णाली रनरेटमा माथि रहँदै प्लेअफमा पुग्न सफल भएको हो ।

सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज यसअघि नै प्लेअफमा पुगिसकेका थिए ।

लिग चरणमा ७ खेल मध्ये ६ खेल जित्दै सुदूरपश्चिम रोयल्स पहिलो शीर्ष स्थानमा छ । उसले १२ अंक जोड्यो ।

७ मध्ये ५ खेल जित्दै जनकपुर बोल्ट्स दोस्रो स्थानमा छ । उसले १० अंक जोड्यो । चितवन राइनोज ८ अंकसहित तेस्रो हुँदा अन्तिम खेलमा पराजित भएको कर्णाली ८ अंक जोडेर चौथो भयो ।

८ अंक नै जोडेको काठमाडौं गुर्खाज भने रनरेटमा पछि पर्दै एनपिएलबाट बाहिरियो । यसअघि लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र विराटनगर किंग्स अन्तिम खेल खेल्नुअघि नै बाहिरिएका थिए ।

अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्नेछन्। तेस्रो र चौथो भएका चितवन र कर्णाली इलिमिनेटरमा भिड्नेछन् ।

बुधबार विहान इलिमिनेटर र दिउँसो पहिलो क्वालिफायर हुनेछ । इलिमिनेटर जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । यस्तै पहिलो क्वालिफायर जित्ने टोली फाइनल पुग्नेछ भने हार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ ।

दोस्रो क्वालिफयार जित्ने टोली फाइनलमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । दोस्रो क्वालिफाइर बिहीबार हुनेछ भने फाइनल शनिबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *