प्रचण्डले रविलाई किन च्याप्दैछन् काखी ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा बसेको दुई महिना (६० दिन) पुगेको छ । सहकारी ठगीको कसुरमा गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पूर्व गृहमन्त्री समेत रहेका लामिछाने पक्राउ परेका थिए ।
उनीमाथि प्रहरीले सहकारी ठगी सहित सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा अनुसन्धान गरेको थियो । यस अवधिमा लामिछानेलाई बयानका लागि कास्की,काठमाडौं,रुपन्देही र चितवन पुर्याइएको थियो ।
पार्टी सभापति लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा होमियो । लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले सडक आन्दोलन गरेको थियो ।
गत कार्तिक २ गतेदेखी हिरासतमा रहेका लामिछानेमाथि अनुसन्धान सकेर सोमबार मात्रै प्रहरीले सरकारी वकिल कार्यालय कास्कीलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ साथ दिँदै आएका छन् । गत सोमबार (मंसिर २४) पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले रवि लामिछानेलाई सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सो कुरा बताएका हुन् ।
‘अदालतबाट दोषी ठहर नभएका अत्याधिक जनमतद्धारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश,अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु,’प्रचण्डले भने । अध्यक्ष प्रचण्डले लामिछानेमाथि त्यसप्रकारको व्यवहार रोक्न सरकारलाई गम्भिर आग्रह समेत गरे ।
त्यसलगत्तै एक कार्यक्रमका लागि चितवन पुगेका प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री अफर गरेको कुरा आफुले थाहा पाएको बताए । त्यसक्रममा उनले रवि लािमछानेसंग कांग्रेस र एमाले डराएको समेत बताएका थिए ।
अदालती प्रक्रियामा रहेको विषयलाई प्रधानमन्त्री भइसकेका व्यक्तिबाट यस्तो अभिव्यक्ति आएपछि अहिले विभिन्न टिकाटिप्पणी भइरहेका छन् । सत्तापक्ष दलहरुले प्रचण्डको उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । प्रचण्डले राजनीतिक दाउपेचका लागि तल्लो स्तरमा झरेर अभिव्यक्ति दिएको सत्तापक्षकोे आरोप छ ।
नेकपा एमालेका सांसद एवं प्रमुख सचेतक महेश कुमार बर्तौलाले प्रमुख प्रतिपक्ष दलका नेताले तल्लो स्तरको टिप्पणी गर्नु दु:खद् विषय भएको बताए । सरकारले कसैलाई पनि पूर्वाग्रह नगरेको उल्लेख गर्दै कानून बमोजिम काम गर्ने उनले बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दाउपेचका लागि सरकारमाथि हिलोछ्याप्ने काम गरिरहेको बताए ।
मकालुखबरसंगको संवादमा उनले भने,‘प्रधानमन्त्री भइसकेका प्रमुख प्रतिपक्ष दलको नेताले तल्लो स्तरको टिप्पणी गर्नु दु:खद् विषय हो । उहाँले राजनीतिक दाउपेचका लागि सरकारमाथि हिलोछ्याप्ने काम गर्नुभएको छ । विषयवस्तु केही नभइसकेपछि सरकारलाई आक्रमण गर्ने उहाँसंग कुनै मसला नभइसकेपछि यस प्रकारको कानून विपरितको टिप्पणी गर्नुभएको छ ।’
प्रचण्डले अवाञ्छित,अराजनीतिक टिप्पणी गरेको बताउँदै प्रमुख सचेतक बर्तौलाले भने,‘सरकारको आलोचना गर्ने नाममा कपोकल्पित भ्रामक तथ्यहीन विषयवस्तु उजार गर्नु कानून विपरित छ ।’
अदालती प्रक्रियालाई अवरोध गर्नु आफैंमा पनि अपराध भएको उल्लेख गर्दै अदालती विषयलाई पूर्वप्रधानमन्त्री प्रचण्डले पूर्ण उन्मुक्ति दिने तरिकाले अभिव्यक्ति दिनु न्यायमाथिको अवरोध भएको उनले बताए । अदालतको क्षेत्राधिकारमा प्रवेश गरेको विषयलाई प्रभावित पार्ने गरी प्रमुख प्रतिपक्ष दलको नेताले बोल्नु गलत भएको समेत प्रमुख सचेतक बर्तौलाले बताए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले पनि पूर्व प्रधानमन्त्री प्रचण्डको अअभिव्यक्ति ठिक नभएको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेजस्तो रास्वपा सभापति लािमछानेलाई अमानवीय,निरङकुश व्यवहार नगरिएको प्रमुख सचेतक घिमिरेले बताए ।
सरकारले सामान्य नागरिकलाई जस्तै व्यवहार लामिछानेलाई पनि गरेको प्रमुख सचेतक घिमिरेको भनाई छ । सरकारले लामिछानेमाथि मानवउचित व्यवहार गरेको समेत उनले बताए ।
तीन पटकसम्म देशको बागडोर सम्हालेका प्रचण्डको यस्तो अभिव्यक्ति आउनु पछाडिको कारण के हुनसक्छ ? भन्ने मकालुखबरको प्रश्नमा उनले भने,‘प्रचण्डले विपक्षी मोर्चा बनाउन खोज्नुभएको होला । अथवा रवि लामिछानेको पार्टीलाई पनि आफ्नो मोर्चामा सामेल गराएर अगाडि बढ्ने उहाँको योजना हुनसक्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद गणेश पराजुलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सभापति रवि लामिछानेको विषयमा सत्य कुरा बोलेको बताए । उनले मकालुखबरसंगको संवादमा भने,‘पूर्व प्रधानमन्त्री प्रचण्डले सत्य कुरा बोल्नुभएको छ । उहाँको भनाईलाई अन्यथा र अरु प्रकियाबाट लिनु हुँदैन,उहाँले सत्य कुरा बोल्ने हिम्मत राख्नुभएको छ, त्यसकारण हामीले यसलाई सकारात्मक रुपमा लिएका छौँ ।’
सांसद पराजुलीले पार्टी सभापति लामिछानेमाथि सहकारी ठगी,सम्पत्ति शुद्धीकरण र संगठित अपराधजस्ता जघन्य मुद्धा लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई कमजोर बनाउने खेलमा सरकार लागिपरेको आरोप समेत लगाए । सरकारले सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिरहेको समेत उनले बताए । सरकारको कामकारबाहीलाई जनताले नजिकबाट नियालिरहेको समेत उनले बताए ।
रास्वपामाथि सरकारले नाङ्गो हस्तक्षेप गरिरहेको कुरा जनतालाई अवगत भएको उनले बताए । अदालतले पार्टी सभापति लामिछानेलाई दोषी करार गरेमा कारबाही भोग्न तयार रहेको समेत सांसद पराजुलीले बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको समयमा संसदको रोष्ट्रमबाटै राज्यका सबै संयन्त्रहरुसंग संवाद गरेर कहीँकतै रवि लामिछाने दोषी नदेखिएको कुरा बताएको सांसद पराजुलीले स्मरण गराए ।
नेकपा माओवादी केन्द्र संगै नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं सांसद ज्ञानेन्द्र शाही रास्वपा सभापति लामिछानेको पक्षमा उभिएका छन् । केही दिन अघि उनीहरु हिरासतमै पुगेर लामिछानेसंग भेटवार्ता गरेका थिए ।
सत्तारुढ दल कांग्रेसभित्रै असन्तुष्टि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अमानवीय व्यवहार गरिएको भन्दै नेपाली कांग्रेसकै नेताहरुले असन्तुष्टिका जनाएका छन् । नेपाली कांग्रेसका नेता एवं सांसद डा.सुनिल शर्माले रवि लामिछानेमाथि अनुसन्धानको नाममा मानसिक तनाव दिने,दुर्व्यवहार गरी मानव अधिकार उल्लङ्घन गर्ने जस्ता कार्य निन्दनीय तथा खेदजनक रहेको बताए ।उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सो कुरा बताएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्,‘राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई लामो समयदेखि राज्य नियन्त्रित प्रहरी हिरासतमा राखी अनुसन्धान भई रहेको सन्दर्भमा मेरो ध्यानाकर्षण भएको छ । कुनै पनि व्यक्तिलाई अनुसन्धानको नाममा धरपकड गर्ने, विरामी हुँदा पनि अस्पतालसम्म जान नदिने, उपचार पाउनु पर्ने नागरिकको हकमा बन्देज गर्ने, अनुसन्धानको नाममा मानसिक तनाव दिने, दुर्व्यवहार गरी मानव अधिकार उल्लङ्घन गर्ने जस्ता कार्य निन्दनीय तथा खेदजनक छन् । नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्री हुनु भएको अवस्थामा पनि तानाशाही तवरबाट रवि लामिछानेलाई गरिएको वर्तावको भर्त्सना गर्दछु। अनुसन्धानलाई जतिसक्दो चाँडो पुरा गरी न्यायालयमार्फत न्यायिक निरूपण हुनु पर्ने र न्यायालयको फैसलालाई सवैले सम्मान गर्नुपर्ने यथार्थमा नाटकीय ढंगबाट प्रहरी हिरासतको श्रृङ्खलाले सबैलाई शशङ्कित पारेको छ ।’