नेपाल र भारतबिचको खेल रद्द
काठमाडौं । एसिसी यु–१९ महिला एसिया कपमा नेपाल र नेपाल र भारतबिचको खेल वर्षाले रद्द भएको छ । योसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गर्न मैदान उत्रिएको भारतले आक्रामक सुरुवात गरेको थियो ।
भारतले ३.१ ओभरमा विना विकेटको क्षतिमा २८ रन बनाएर खेलिरहेको थियो । खेलकै क्रममा वर्षा भएपछि खेल रद्द गरियो ।
खेल रद्द भएसँगै भारत समूह बीको विजेता बन्न सफल भयो । नेपाल र भारतको समान अङ्क भए पनि भारत नेट रनरेटको आधारमा समूह विजेता बन्यो ।
त्यसअघि नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन जोड्यो ।
नेपालका लागि पूजा महतोले सर्वाधिक २५ रन जोडिन् । उनले ४० बलमा २५ रन बनाइन् ।
एलिशा कुमारी यादवले आक्रामक ब्याटिङ गरिन् । उनले ९ बलमा मात्रै २० रन बनाइन् । उनले ४ चौका प्रहार गरिन् ।
साना प्रवीणले ९,सोनी पाखरिनले ८ र ज्योत्स्निका मरासिनीले ६ रनको योगदान दिइन् ।
सावित्री धामीले र रचना कुमारी चौधरीले समान ३–३ रन जोडिन् ।
अनु कडायत र कुसुम गोदारले समान १–१ रन बनाउँदा सीमाना केसी शून्य रनमा आउट भइन् ।
बलिङमा भने भारतकी पारुनिका सिसोदियाले सर्वाधिक ४ विकेट लिइन् । उनले ४ ओभरमा १२ रन मात्रै खर्चिएर ४ विकेट लिएकी हुन् ।
आनन्दिता किशोर र मिथिलाले समान १–१ विकेट लिइन् ।