चितवनमाथि कर्णालीको जित, दोस्रो क्वालिफायर खेल्ने
काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल)को इलिमिनेटर खेलमा चितवन राइनोजमाथि कर्णाली याक्सले शानदार जित निकालेको छ ।
यो जितसँगै कर्णाली याक्सले दोस्रो क्वालिफायर खेल्ने पक्का भएको छ । कर्णालीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग खेल्नेछ ।
पहिलो क्वालिफायरमा आजै सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । चितवन राइनोज भने उपाधि होडबाट बाहिरिएको छ ।
जितका लागि १ सय ७६ रनको लक्ष्य पाएको चितवनले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ५४ रन मात्रै बनाउन सक्यो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रन जोडे पनि जितका लागि पर्याप्त भएन ।
कप्तान कुशल मल्लले २१ रन बनाए । विपिन रावल १८, लुक बेन्केनस्टाइन १६ र शरद भेषावकरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
हसन इसाखिल १, सन्तोष कार्की ८, सोहेल तनवीर ४, अमरसिंह रौतेला ९,रिजन ढकाल ७ र रञ्जित कुमारले शून्य रनको योगदान दिए ।
बलिङमा भने कर्णालीका जिशान मकसूदले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामी र नन्दन यादवले समान २–२ विकेट लिए । बिपिन शर्माले १ विकेट झारे ।
त्यसअघि टस हारेर कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७५ रनको योगफल बनायो ।
कर्णालीका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३९ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाएका हुन् ।
त्यसैगरी, विल बसिस्टोले ५२ रन बनाउँदा चाडविक वाल्टनले अविजित ४६ रन जोडे भने जिसन मक्सुदले १४ रन बनाए ।
चितवनका लागि सोहिल तन्वीरले दुई विकेट लिए भने शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले समान एक–एक विकेट लिए ।