‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि सहिद स्मृति विद्यालयलाई
कास्की । गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित गण्डकी विश्वविद्यालयले आयोजना गरेको दोस्रो संस्करणको ‘कुलपति रनिङ शिल्ड विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता’को उपाधि पोखरा–१४ स्थित सहिद स्मृति विद्यालयले जितेको छ ।
यही मङ्सिर २९ गतेदेखि पोखरा रङ्गशालामा सुरु भएको प्रतियोगिताको आज फाइनल खेलमा स्टेपवाई स्टेप माविलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सहिद स्मृति विद्यालय च्याम्पियन बन्यो ।
उपाधि विजेता सहिद स्कुलले नगद रू एक लाखका साथमा रनिङ शिल्ड प्राप्त गरेको छ भने उपविजेता बन्न सफल स्टेपवाईले नगद रू ५० हजार पुरस्कार प्राप्त गर्यो ।
यसअघि ४०–४० मिनेट खेलाइएको रोमाञ्चक खेलमा दुवै विद्यालयले समान २–२ गोल गरेका थिए । सहिद स्कुलका लागि सरून सुनार र केशबहादुर रोका मगरले गोल गरे । स्टेपवाईका निराजन मगर र कुञ्ज पौडेलले गोल गरेका थिए ।
निर्धारित समयमा खेल बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा समेत दुवैतर्फबाट थप गोल हुन सकेन । पेनाल्टी सुटआउटमा स्टेपवाई स्टेपले दुई गोल गर्यो भने सहिद स्कुलले चारवटै प्रहारमा गोल गर्दै उपाधि चुम्न सफल भयो । प्रतियोगिताको उत्कृष्ट खेलाडी सहिद स्कुलका गोलरक्षक केशबहादुर रोक्का मगर बनेका छन् । उनले ट्रफीसहित नगद रू १५ हजार प्राप्त गरे ।
प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरूलाई विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरूङ, उपकुलपति प्रा.डा.देवकोटा, विश्वविद्यालयका, रजिस्ट्रार डा.कैलाश तिमिल्सिना, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरूङले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा २३ विद्यालयका टिम सहभागी थिए । गण्डकी विश्वविद्यालयले स्नातक तहमा देशमै पहिलोपटक ‘स्पोर्टस् म्यानेजमेन्ट’ विषय अध्यापन गराउँदै आएको छ ।