रवि लामिछानेको भनिएको ‘भाइरल’ तस्बिरबारे के भन्छ कास्की प्रहरी ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने ६२ दिन देखी प्रहरी हिरासतमा छन् । गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थीलबाट उनी पक्राउ परेका थिए । उनी अहिले कास्की प्रहरीको हिरासतमा छन् । लामिछानेलाई बयानका लागि कास्की,काठमाडौं,रुपन्देही र चितवन पुर्याइसकिएको छ ।
उनीमाथि सहकारी ठगी संगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुमार अनुसन्धान भइरहेको छ । यसैबीच कास्की प्रहरीकको हिरासत कक्षमा रहेका लामिछानेको भनिएको तस्बीर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
सार्वजनिक गरिएकोे तस्बीर रवि लामिछानेकोे हो वा होइन भन्ने विषयमा विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् ।
अनुसन्धानमा प्रहरी
कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको अवस्था जस्तो अस्पष्ट देखिने तस्बीर सामाजिक सञ्जालमा भाइरल बनेपछि कास्की प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको अवस्था जस्तो अस्पष्ट देखिने तस्बीर केही दिन अगाडि सामाजिक सञ्जालमा हल चालु रहेको सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको तथ्यपूर्ण अनुसन्धानलाई समेत नकारात्मक प्रभाव पार्ने गरी डा.निकोलस भुषालको फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यवसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेष्ण भएको अनधिकृत तस्बीरप्रति यस जिल्ला प्रहरी कार्यालय कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ,’जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
प्रचलित कानूनी प्रावधानको उल्लंघन गरी अनधिकृत रुपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न जो कोहीलाई पनि कानूनी दायरम ल्याइने जारी विज्ञप्तिमा उल्लेख छ ।
तस्बीर लामिछानेकै भएको रास्वपाको दाबी
रास्वपाका नेताहरूले भने उक्त तस्बीर पार्टी सभापति लामिछानेकै भएको दाबी गरिरहेका छन् ।
रास्वपाका सह-कोषाध्यक्ष दीपक बोहराले सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै कास्की प्रहरीले हिरासतको सिसिटिभी फुटेज स्क्रिनसट गरेर सार्वजनिक गरेको दाबी गरेका छन् ।
त्यसप्रति आपत्ति जनाउँदै उनले लेखेका छन्, ‘अन्याय गर्नुको पनि हद हुन्छ। रविदाइ हिरासत कक्षमा सुतेको सिसिटिभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला ।’
यसैबीच रवि लासमिछानेको भनिएको उक्त तस्बीर रास्वपाकै समर्थक डा.निकोलस भुषालले खिचेको पाइएको छ । लामिछाने हिरासतमा सुतिरहेको तस्बीर आफुले खिचेको भुषाले स्वीकार समेत गरिसकेका छन् । भुषाल रवि लामिछानेको पक्षधर हुन् ।
‘यो फोटो रियल हो, मैले नै खिचेको हो,’ उनले भने, ‘गल्ती भको हो माफ चाहन्छु । म बाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिए ।’
भुषालले दुई दिनअघि नागरिक विद्रोहका जुट्न आह्वान गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । तर, रास्वपा सह–कोषाध्यक्ष बोहोराले तस्बिरबारे प्रश्न उठाएपछि उनले रविको तस्बिर हटाएका छन् ।
यता गृहमन्त्री रमेश लेखकले लामिछानेको तस्वीर सार्वजनिक भएको भनिएको विषयमा यथार्थ छानविन गरी दोषीलाई तत्काल कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकेका छन् ।