हिरासतमा रहेका लामिछानेको तस्बीर ‘पब्लिस’ गर्नेलाई कारबाही गरिने

अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ६२ दिन देखी प्रहरीको हिरासतमा छन् । गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पूर्व गृहमन्त्री समेत रहेका लामिछाने पक्राउ परेका थिए ।

उनीमाथि प्रहरीले सहकारी ठगी संगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरेको थियो । उनलाई बयानका लागि चितवन,रुपन्देही,काठमाडौं र कास्की पुर्‍याइएको थियो ।

पछिल्लो पटक अनुसन्धान सकेर जिल्ला प्रहरी कार्याल कास्कीले जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।

यसैबीच कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको सुतिरहेको तस्बीर सार्वजनिक भएको छ । उक्त तस्बीर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै समर्थक डा.निकोलश भुषाले सार्वजनिक गरेका हुन् ।भुषाल स्वयंले रास्वपा सभापति लामिछाने सुतिरहरेको तस्बीर आफुले खिचेको स्वीकार गरिसकेका छन् ।

उनले भने,‘यो फोटो रियल हो, मैले नै खिचेको हो,’ उनले भने, ‘गल्ती भको हो माफ चाहन्छु । म बाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिए ।’

भुषालकै भनाइअनुसार उनी शनिवार रवि लामिछानेलाई भेट्न कास्की हिरासत पुगेका थिए । प्रहरीकै अगाडि उक्त तस्बीर खिचेको भुषालले बताएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सह कोषाध्यक्ष दीपक बोहराले पार्टी सभापति लामिछानेको तस्बीर सार्वजनिक भएपछि आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अन्याय गर्नुको पनि हद हुन्छ । रविदाइ हिरासत कक्षमा सुतेको सिसिटिभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला ।’

उनले सामाजिक सञ्जालमा कतै पाएर आफुले उक्त फोटो फेसबुकमा पोष्ट गरेको समेत बताएका छन् ।

तर,हिरासत जस्तो संवेदनशील ठाउँको तस्बीर भुषालले कसरी खिच्न सके ? भन्ने प्रश्न सिर्जना भएको छ । अनुमति विना कसैले पनि कुनै पनि व्यक्तिको फोटो खिच्न नपाउने भएतापनि भुषालले संवेदनशील ठाउँभित्रको फोटो खिच्न भ्याएपछि प्रहरीमाथि प्रश्न उठेको छ । लामिछानेको तस्बीर बाहिरिएपछि प्रहरीले सुरक्षामा गम्भीर लापरबाही गरेको देखिएको जानकारहरु बताउँछन् ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावलका अनुसार तस्बीर सार्वजनिक भएको विषयमा अनुसन्धान भइरहेको छ ।

‘यो अनुसन्धानको विषय हो,हामीले समिति गठन गरेर अनुसन्धान कार्यलाई अघि बढाएका छौँ । जिल्ला प्रहरी कार्यालयलाई लेखि पठाइसकेका छौँ,कतै न कतै प्रहरीको कमजोरी देखिएको छ,’रावलले मकालुखबरसंग भने ।

अनुसन्धानमा प्रहरी,तस्बीर सार्वजनिक गर्नेलाई कारबाही गरिने

कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको अवस्था जस्तो अस्पष्ट देखिने तस्बीर सामाजिक सञ्जालमा भाइरल बनेपछि कास्की प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तस्बीर सार्वजनिक गर्नेलाई कारबाही गरिने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेको तस्बीर सार्वजनिक गर्ने डा.निकोलस भुषाललाई कारबाही गर्ने भएको छ ।

साइबर अपराध सम्बन्धी कानूनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याइने जारी विज्ञप्तिमा उल्लेख छ ।

‘कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको अवस्था जस्तो अस्पष्ट देखिने तस्बीर केही दिन अगाडि सामाजिक सञ्जालमा हल चालु रहेको सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको तथ्यपूर्ण अनुसन्धानलाई समेत नकारात्मक प्रभाव पार्ने गरी डा.निकोलस भुषालको फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यवसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेष्ण भएको अनधिकृत तस्बीरप्रति यस जिल्ला प्रहरी कार्यालय कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ,’जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ,‘गोपनीयता कायम गर्नुपर्ने तस्बिर प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने छ,नेपालको संविधान एवं प्रचलित ऐन कानुन बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिबद्ध रहेको ब्यहोरा अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *